काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि महत्त्वपूर्ण मानिएको ‘मतदाता नामावली ऐन संशोधन’ सम्बन्धी अध्यादेश जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ प्रमाणीकरण गरेका हुन् ।
यो अध्यादेशले मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा रहेको ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गरेको छ । यस पूर्वको व्यवस्थाका कारण निर्वाचनको मिति घोषणा भएपश्चात् मतदाता नामावली दर्ता प्रक्रिया रोकिने गरेको थियो ।
निर्वाचन आयोग स्रोतका अनुसार, यो अध्यादेश ल्याउनुको मुख्य उद्देश्य यही अवरोधलाई हटाएर निर्वाचनको मिति घोषणा भइसकेपछि पनि मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिनु हो । यसले फागुन २१ को निर्वाचनमा थप योग्य नागरिकहरूलाई मताधिकार प्रयोग गर्न सहज बनाउने विश्वास गरिएको छ ।
यस अध्यादेश जारी भएसँगै अब निर्वाचनको मिति घोषणा भइसके पनि मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने योग्य नागरिकहरूका लागि बाटो खुल्ला भएको छ ।








