काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विकल्प तत्काल खोज्ने सम्भावनालाई पूर्णविराम लगाएको छ । ‘जेन-जी’ आन्दोलनले मुलुकका प्रमुख दलहरूमा नेतृत्व परिवर्तन र पुनर्गठनको बहस छेडिरहेका बेला, रास्वपाले भने रविको विकल्प नखोज्ने भएको हो ।
केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सभापतिहरूले रवि लामिछानेको विकल्प खोज्ने कुरा निराधार रहेको स्पष्ट पारे । बागमती सभापति अच्युतम लामिछानेले ‘पुराना पार्टीमा चलेको हावामा रास्वपा कदापि विश्वास नगर्ने’ बताउँदै सभापति लामिछानेको विकल्प नखोजिएको जानकारी दिए । कोसीका सभापति तपेश्वर यादवले पनि लामिछानेप्रति पूर्ण विश्वास व्यक्त गरे भने कार्यवाहक सभापति सरिन तामाङले ‘रवि बिनाको रास्वपाको परिकल्पना नै नगरिएको’ बताए ।
लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले रास्वपामा नेतृत्वबारे छलफल गर्न नपाउने अवस्था नरहेको स्पष्ट पार्दै ‘सभापतिको विकल्पबारे हामीले सोचेका पनि छैनौँ’ भने । सुदूरपश्चिमका सभापति प्रकाश विष्टले पनि लामिछानेको विकल्प नखोजिएकोमा जोड दिए । गण्डकी र कर्णाली प्रदेशका सभापतिहरू भने पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् ।
‘जेन-जी’ आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्काएको छ । रास्वपाभित्र पनि केही नेताहरूले यसबारे चर्चा गरेका छन्, जसमा नेतृ सुमना श्रेष्ठले यही विषयलाई लिएर पार्टी परित्याग गरेकी छिन् । तर, रास्वपाका अधिकांश नेताहरू सभापति लामिछानेको पक्षमा उभिएका छन् ।








