समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्या प्रकरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुपाल्चोक घर भएका ओम पौडेल हुन्।
भदौ २४ गते महाराजगन्जमा असई रायलाई उद्दण्ड समूहले कुटपिट गर्दा पौडेलले अनुहारमा मुङ्ग्रो प्रहार गरी हत्या गरेको भिडियो सार्वजनिक भएको थियो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले धापासीबाट पक्राउ गरेको हो। त्यस दिनको प्रदर्शनमा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्दै असई मिलन राय र प्रहरी जवान उत्तम थापाको हत्या गरेका थिए।
यसअघि असोज ४ गते प्रहरीले यसै प्रकरणमा काभ्रे घर भएका युवराज क्यापछाकीलाई पक्राउ गरिसकेको छ। अहिलेसम्म प्रहरीले पक्राउ गरेका अभियुक्तको संख्या दुई पुगेको छ। अदालतले क्यापछाकीमाथि अनुसन्धानका लागि प्रहरीले १० दिन थुनामा राख्न पाउने आदेश दिएको छ।








