समाचार सुन्नुहोस :
काठमाडौँ – भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङका अनुसार १२ वटा स्टोर पूर्णरूपमा जलेका छन् भने नौ वटामा आंशिक क्षति पुगेको छ। क्षतिको प्रारम्भिक विवरण संकलन गर्दा यो तथ्य पाइएको उनले बताए।
गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा १९ वटा शाखाको संरचना मात्रै चार अर्ब ४० करोडभन्दा बढी मूल्य बराबर नष्ट भएको जानकारी दिए। यस्तै पाँच अर्ब ९६ करोडभन्दा बढी मूल्यका सामान जलेर नष्ट भएका छन् भने करिब ५० करोड मूल्यका सामान तोडफोड र लुटपाट भएका छन्। उनका अनुसार भाटभटेनीका स्केलेटर, लिफ्ट, फ्रिजलगायत महँगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका छन्।
त्यस्तै, आन्दोलनका घटनाले ठूलो आर्थिक क्षति पुर्याए पनि दश हजारभन्दा बढी कर्मचारीलाई बिदा नगर्ने र यस वर्ष दशैँ बोनस पूरा महिनाको दिने योजना भाटभटेनीले बनाएको गुरुङले बताए। प्रधानमन्त्रीसँगको भेटमा उनले राज्यले चाहेमा आफ्नो आधा सम्पत्ति समेत उपलब्ध गराउन तयार रहेको बताउँदा पनि भाटभटेनीलाई नै ‘टार्गेट’ गरिएको गुनासो व्यक्त गरे।








