
टोकियो – जापानमा विदेशीहरुप्रति विरोधी भावना बढिरहेकै बेला नेपालीहरुबाट एकपछि अर्को गर्दै भएका पछिल्ला केहि गतिविधिका कारण अहिले सामाजिक सञ्जाल तातेको छ । अघिल्लो महिना गैरआवासीय नेपाली संघ जापानको निर्वाचन सकिएलगत्तै विजय पक्षधरका नेतृत्व तहले आधारात पनि नभनि गरेको नारा जुलुस सहितको होहल्ला र विजय र्यालीको चर्चा र जापानीहरुले गरेको त्यसको विरोधको चर्चा सेलाउन नपाउँदै अघिल्लो हप्ता नेपालमा भएको जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न भन्दै शिनओकुबो नजिकै रहेको तोयामा पार्कमा हजारौंको संख्यामा भेला भएका नेपालीहरुले गरेको नारा, जुलुस र विरोध र्यालीको यतिबेला जापानीहरुले सामाजिक सञ्जालभरि चर्को विरोध जनाईरहेका छन् ।
जापान र जापानी नागरिकसंग कुनै सरोकार नै नभएको विषयमा शान्तिपूर्वक दैनिक जीवन यापन गर्न पाउनुपर्ने आफुहरुको नैसर्गिक अधिकारको हनन् भएको भन्दै जापानीहरुले सामाजिक सञ्जालभरि विरोध जनाएका हुन् । उनीहरुको भनाई छ– ‘यसप्रकारको गतिविधि गर्नु छ भने आफ्नै देशमा गएर गर, हैन जापानमा बस्नु छ भने जापानको नियम, कानून र अनुशासन अनि यहाँका नागरिकको मौलिक अधिकारको पनि अधिकतम ख्याल गर’ भन्ने सन्देशसहित सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् ।

जापानको कुनै पनि सार्बजनिक स्थानमा मेला, महोत्सव, भेला, र्याली वा विरोध प्रदर्शन गर्नुपरेमा त्यसका लागि अनिवार्य अग्रिम अनुमति लिनुपर्ने र त्यस अवधिमा हुने सबै गतिविधिको पूरै जिम्मा लिनेगरी पूर्व प्रतिबद्धता जनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै तोयामा पार्क प्रशासनले पनि तिव्र असन्तोष प्रकट गरेको छ । नेपालीहरु जो कोहीबाट हुने यस्ता गतिविधिले जापानमा बस्ने सबै नेपालीहरुको शीर झुकाउनुका साथै नकारात्मक असर पर्ने भएकोले अव उप्रान्त यस्ता अवाञ्छित गतिविधि नगर्न र आयोजक पक्षले सम्बन्धित निकाय समक्ष यथाशिघ्र क्षमायाचना गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् ।
स्मरण रहोस्, नेपालीहरुको बाक्लो बस्ती रहेको शिनओकुबो–ओकुबो क्षेत्रमा नेपालीहरुका विभिन्न कार्यक्रमहरु निरन्तर भईरहन्छन् । जापानमा सयौंको संख्यामा रहेका नेपाली संघसंस्थाहरु र तिनका नेतृत्वले समुदायमा यसप्रकारका अवाञ्छित गतिविधि हुन नदिन सचेत र सजग बनाउनुपर्ने देखिन्छ ।
जापानमा बस्दै गर्दा हामी विदेशीहरुले सबैभन्दा हेक्का राख्नुपर्ने विषय भनेको यहाँका नागरिकहरुको दैनिक जीवनमा असर पर्ने कुनै पनि काम वा क्रियाकलाप नगर्नू नै हो । तोयामा पार्कमा हालै भएको अनियन्त्रित र अस्वभाविक भेला आयोजनाको हालसम्म कसैले जिम्मा नलिएकोले पनि घटनालाई अझ शंकास्पदरुपमा हेरिएको बताईन्छ । छोटो समयको सूचनाको आधारमा पनि अनपेक्षित ठूलो संख्याको जमघट हुनुले ठूलै नेटवर्क वा समुह सक्रिय रहेको हुन सक्ने भन्दै थप सशंकित भएका जापानको सुरक्षा निकायले अनेकथरि अड्कल काट्दै सुक्ष्म तवरले अनुसन्धान गरिरहेको बुझिएको छ । जापानमा विदेशीहरुका कारण साँगठानिक एवं आपराधिक गतिविधि बढेको भन्दै विदेशीहरुका हरेक गतिविधिमा जापानले सूक्ष्म निगरानी बढाईरहेको परिप्रेक्ष्यमा भएको उक्त घटनाले नेपालीहरुको छवि धुमिल हुन पुगेको र यसको असर हरेक क्षेत्रमा पर्न सक्ने यहाँका जानेमानेका नेपालीहरुको बुझाई छ ।
गलत प्रयोजनका लागि नगरिएको भनिएता पनि स्वतःस्फुर्त भेला भएका अनियन्त्रित भिड, होहल्ला र उक्त भिडले थुपारेको फोहरमैला, क्षती पुर्याएका स्थानीयका गमला र सबैभन्दा जापानीप्रति नेपालीहरुले गुमाउनुपरेको विश्वास र उनीहरुको भावनामा पुगेको ठेसको जिम्मेवारी कसले लिने भन्ने महत्वपूर्ण विषय हो । जिम्मेवारी लिन सकिदैन भने त्यसप्रकारका बेवारिसे कार्यक्रमको प्रचारप्रसारमा मदत गर्नु पनि दुरुत्साहन नै हो । तसर्थ संवेदनशील समय र विषयमा संवेदनहिन गतिविधि निन्दनीय छ । आफुबाट गरिने हरेक गतिविधिको आफै जिम्मेवार बनौ, जबाफदेही हौं । हैन भने अमुक पात्रहरुको अक्ष्यम्य गतिविधिको भारी जापानभरिका सबै नेपालीहरुले किन बोक्ने ? भन्ने प्रश्नहरु पनि चर्कोरुपमा उठ्न थालेका छन् ।







