काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताविरुद्धका षड्यन्त्रहरू अझै नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई असफल बनाउन सुनियोजित प्रयास भइरहेको उनको भनाइ छ ।
प्रचण्डले भने, ‘अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिने र मुलुकलाई थप अस्थिरतातिर धकेल्ने योजनाबद्ध प्रयास हुन सक्छ । हामी चाहन्छौँ कि घोषित निर्वाचन तोकिएकै समयमा सम्पन्न होस् ।
उनले लोकतन्त्र, गणतन्त्र र संविधानका आधारभूत मान्यताविरुद्ध जाने कुनै पनि कोसिसले देशलाई समाधानभन्दा झनै ठूलो सङ्कटतर्फ धकेल्ने चेतावनी दि ए। हालको राजनीतिक अवस्थालाई परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्रसँग जोड्दै प्रचण्डले लोकतान्त्रिक, गणतान्त्रिक र परिवर्तनप्रेमी शक्तिहरूबीच बृहत् एकताको आवश्यकता औँल्याए ।
प्रचण्डले थप भने, ‘म यत्ति भन्छु, मेरा लागि जेन-जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेका एजेन्डाहरूकै अभिव्यक्ति हो ।’
उनले पूर्वप्रधानमन्त्रीका रूपमा र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आफूले नेपाली काँग्रेस र नेकपा (एमाले) का नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरेको पनि स्मरण गराए ।








