Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानमा भिसा विपरीत काम गरिरहेका विदेशीहरूमाथि प्रहरीले निगरानी बढाएको छ । पछिल्लो समय एउटा क्षेत्रको भिसामा आएर अर्कै क्षेत्रमा काम गर्नेहरूको संख्या बढेपछि प्रहरीले निगरानी बढाएको हो ।

हालै कृषि भिसामा आएका नेपाली, इन्डोनेसियाली, भियतनामी लगायत करिब १ सय २० विदेशी कामदारलाई भिसाको नियमविपरीत सरसफाइ सम्बन्धी काममा लगाएको आरोपमा संलग्नहरू पक्राउ परेका छन् । टोकियो महानगर प्रहरी विभागले यामानाशी प्रिफेक्चरमा रहेको एक अस्थायी जनशक्ति आपूर्तिकर्ता (हाकेन)कम्पनीका अध्यक्ष ५४ वर्षीया हिहारा तात्सुहितो र एक लुगा धुने कारखानाका कार्यकारी कोबायाशी कानसेईसहित चार जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, हिहाराको कम्पनीले कृषि कामका लागि रेसिडेन्सी स्टाटस प्राप्त गरेका तीन इन्डोनेसियाली नागरिकलाई गत वर्षको अक्टोबरदेखि यस वर्षको जुन महिनासम्म लुगा धुने कारखानामा अवैध रूपमा काममा लगाएको आरोप छ । सोही कम्पनीले जुन महिनासम्म दुई वर्षको अवधिमा करिब १ सय २० जना विदेशी नागरिकलाई उक्त कारखानामा अवैध रूपमा पठाएको प्रहरीको आशंका छ । यसरी अवैध तरिकाले काममा लगाएर कम्पनीले ७० मिलियन जापानी येन भन्दा बढी रकम कमाएको समेत आरोप छ ।

आप्रवासन नियन्त्रण कानूनको उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकामध्ये हिहाराले भने आफूलाई कृषि काम नभएको अवस्थामा औद्योगिक लुगा धुने काममा लगाउनु कानुनी रहेको विश्वास लागेको भन्दै आरोपलाई आंशिक रूपमा अस्वीकार गरेका छन् । यता लुगा धुने कारखानाकका कार्यकारी कोबायाशीले कर्मचारीको गम्भीर अभावका कारण कामदार प्रयोग गर्नुपरेको बताएका छन् । व्यवसायलाई निरन्तरता दिन चाहेकाले यस्तो गर्नु परेको उनले स्वीकार गरेका छन् ।

टोकियो प्रहरी विभागले यस विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ । जापानले विदेशी कामदारमाथि कडाइ गर्ने संकेत गरिरहेको बेला अवैध रूपमा काम गरिरहेकाहरूमाथि प्रहरीले नजर बढाएको छ ।

तपाईको प्रतिक्रिया