काठमाडौं – भदौ २३ र २४ गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको जन-जी आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी र लुटपाटका सम्बन्धमा नेपाल प्रहरीले आम नागरिकबाट प्रमाण माग गरेको छ । प्रहरीले आज एक सूचना जारी गर्दै घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन हार्दिक अनुरोध गरेको हो ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’
हालैका दिनहरूमा सामाजिक सञ्जालमा जन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न हिंसात्मक र अराजक घटनाका भिडियो तथा तस्बिरहरू सार्वजनिक भएका थिए । प्रहरीले ती प्रमाणहरूका आधारमा थप अनुसन्धान अघि बढाउने र दोषीहरूलाई कारबाही गर्ने जनाएको छ ।








