टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानको आराकावा क्याम्पसमा भोलि शनिबार अपरान्ह राधिकादेवी दासीको प्रवचन कार्यक्रम हुने भएको छ ।
पछिल्लो समयमा मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण सबैमा छाएको निराशा, तनाव र विक्षिप्त मनस्थितिलाई थोरै भएपनि राहत र मनमा शान्ति प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले उक्त धार्मिक तथा मोटिभेशनल प्रवचन राखिएको स्कुल प्रशासनले जनाएको छ ।
देश-तथा विदेशमा ख्याती कमाएकी बहुचर्चित कथावाचिका दासी हाल जापानमा हुनुहुन्छ । उहाँ जापान भ्रमणमा रहेको अवसर पारेर स्कुलले प्रवचन कार्यक्रमको आयोजना गरेको हो । उसो त यसअघि दासीको प्रवचन कार्यक्रमहरु जापानका विभिन्न सहरहरुमा सम्पन्न भईसकेका छन् ।
नेपाली, सँस्कृत, हिन्दी र अंग्रेजी गरी ४ भाषामा धाराप्रवाह कथा वाचन गर्न सक्ने प्रखर वाचिकाको परिचय बनाउनुभएकी दासी भन्नुहुन्छ – ‘साँच्चिकै शान्ति अध्यात्मबाट मात्र प्राप्त हुन्छ, त्यसैले अध्यात्म बिना हरप्राणी अपूर्ण र अधुरो छ । अहिलेका बच्चा तथा तन्नेरी पुस्तामा अध्यात्मको आवश्यकता छ, त्यो उनीहरुमा बोध गराउनु हाम्रो कर्त्तब्य हो । त्यसैले अचेल मलाई स्कुल, कलेज तथा अस्पतालहरुमा प्रवचनका लागि बोलाउने गर्नुहुन्छ ।’
‘धर्मबाट मार्ग, शिक्षाबाट प्रकाश र शान्तिबाट भविष्य’ नारा दिईएको शनिवार अपरान्ह २ बजेबाट हुने प्रवचन कार्यक्रममा सरिक भई लाभ लिन एभरेष्ट इन्टरनेशनल स्कुल जापानका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले सम्बन्धित सबैमा अपिल गर्नुभएको छ ।
‘जिन्स पाइन्ट लगाउँदैमा म अध्यात्म छैन भन्नुपर्दैन, आध्यात्मिकताको सम्बन्ध बाहिरी आवरणसंग हुँदैन, भित्रको आत्मा र परमात्मासंग जोडिएको हुन्छ’ – दासी अगाडि भन्नुहुन्छ- ‘त्यसैले एक पटक पाएको मान्छेको जीवनमा आफुलाई मानसिक र शारीरिकरुपमा यति सक्षम र बलियो बनाउनुहोस् कि जीवनमा अरु कसेको कहिलै भर पर्न नपरोस् । यो कुरो अध्यात्ममा मात्र संभव छ । त्यसैले अध्यात्ममा जोडिन ढिला नगरौं ।’
एभरेष्ट इन्टरनेशनल स्कुलको ओगिकुबो, ओकुबो, आशागाया पछिको आराकावा यसै वर्षको शैक्षिक सत्र अप्रिलदेखि सञ्चालनमा आएको चौथो क्याम्पस हो । आराकावा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थितिलाई ध्यानमा राखी आराकावामा स्कुल सञ्चालन गरिएको स्कुल सञ्चालक समितिका अध्यक्ष किरणविक्रम थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार एभरेष्ट इन्टरनेशनल स्कुलले अब निकट भविष्यमै जापानको फुकुओका, काठमाडौंमा र थाइल्याण्डको बैंककमा पनि शाखा बिस्तार गर्ने भएको छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानमा रहेका नेपाली समुदायको साझा प्रोप्रटीकारुपमा सन् २०१३ सालको अप्रिलमा १३ जना विद्यार्थीबाट सुरु गरिएको थियो । हाल यहाँ नर्सरी (प्रि-स्कुल) देखि कक्षा १२ सम्म गरी जम्मा ५ सय ८ जना विद्यार्थीहरु अध्ययनरत छन् भने पूर्णकालिन २८ जना, आंशिक ४५ जना र अनलाइन १२ समेत गरी जम्मा ७३ जना शिक्षक-शिक्षिका तथा कर्मचारीहरु कार्यरत छन् ।
करीव ६० जना नेपालीहरुको सामुहिक लगानीबाट सञ्चालित एभरेष्ट इन्टरनेशनल स्कुल नेपाल सरकार र जापान सरकार दुवै देशको सरकारबाट मान्यता प्राप्त अहिलेसम्मकै एक मात्र इन्टरनेशनल स्कुल हो भने यस स्कुलले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट समेत सम्बन्धन प्राप्त गरेको छ ।*** 








