काठमाडौं – मुलुकमा विकसित ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकसहित सबै पक्षलाई सहयोगको अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भएसँगै अहिलेको संकटबाट मुलुक, जनता र लोकतन्त्रलाई जोगाउन सबैको साथ आवश्यक रहेको राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन आन्दोलनकारी पक्षलाई आग्रह गरे । उनले जेनजीका प्रतिनिधिहरूसमेत बसी छलफलबाटै निकास खोज्न सकिनेमा जोड दिए ।
यसैबीच, नेपाली सेनाले पनि हालको विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । एक सार्वजनिक अनुरोधमार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ आफू सदैव प्रतिबद्ध रहेको दोहोर्याएको छ ।
आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै सेनाले मृतकप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित रहेको बताउँदै, ‘हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,’ भनेको छ ।








