काठमाडौं – देशभर चर्किएको जेनजी प्रदर्शनले राजधानी काठमाडौंमा अभूतपूर्व हिंसात्मक रूप लिएको छ । आक्रोशित प्रदर्शनकारीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी गरेका छन्, जसले मुलुकको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
बिहानैदेखि उग्र बनेका जेनजी प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत लगायतका संवेदनशील सरकारी भवनहरूमा लगातार आगो लगाइरहेका छन् । यसै क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको घर र कार्यालयमा पनि तोडफोड तथा आगजनीका घटनाहरू भएका छन् ।
प्रदर्शनको सबैभन्दा डरलाग्दो दृश्य संसद् भवन परिसरमा देखियो, जहाँ जेनजी युवाहरूले सुरक्षाकर्मीबाट बन्दुक खोसेर चलाएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा तैनाथ सुरक्षाकर्मीको बन्दुक खोसी गोली चलाएपछि स्थिति झनै भयावह बनेको छ । यद्यपि, यस घटनामा मानवीय क्षतिको विवरण आइसकेको छैन ।








