समाचार सुन्नुहोस :
काठमाडौँ – इजरायली सेनाले गाजा सहरको सुसी टावर नामक अग्लो भवन ध्वस्त पारेको छ। लगातार दोस्रो दिन इजरायलले भवन लक्षित गरेको हो।
रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल ‘एक्स’ मा भवन ढलेको भिडियो सार्वजनिक गरेका छन्। इजरायली रक्षा बल (आईडीएफ)ले उक्त भवन हमासले प्रयोग गर्दै आएको दाबी गरेको छ। तर, हमासले भने यो आरोप अस्वीकार गरेको छ।
आक्रमणमा मानवीय क्षति भएको वा नभएको अहिलेसम्म पुष्टि हुन सकेको छैन। शनिबारको आक्रमण अघि इजरायलले पर्चा खसाल्दै गाजावासीलाई दक्षिणतर्फ सर्न अनुरोध गरेको थियो। इजरायलले उक्त क्षेत्रलाई ‘मानवीय क्षेत्र’ भनेर उल्लेख गरेको छ।
सुसी टावर पछिल्ला केही दिनयता भत्काइएका अग्ला भवनमध्ये दोस्रो हो। यसअघि शुक्रबार अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठूलो विस्फोटपछि ढलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।








