काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कांग्रेस र एमालेको नभई दलाल र बिचौलियाहरूको उपज भएको गम्भीर आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा शनिबार साँझ लमजुङको भोर्लेटारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
प्रचण्डले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार छ नि । यो कांग्रेस र एमालेले बनाएको सरकार होइन । दलाल बिचौलियाले बनाइदिएको सरकार हो यो । उनीहरूलाई खरिद गरेर र अलिअलि धम्क्याएर ।’
उनले बिचौलियाहरूले आफ्ना ठूला होटल र घरमा नेताहरूलाई भेला गराई मध्यरातमा सरकार गठनको तानाबुना बुनेको आरोपसमेत लगाए । कांग्रेस र एमाले नमिल्दा देश माओवादीको हातमा जाने र बिचौलियाहरूको भविष्य समाप्त हुने डरले यस्तो गठबन्धन बनेको प्रचण्डको जिकिर छ ।
प्रचण्डले बिचौलियाहरूले पार्टीका नेताहरूलाई आफ्नो औंलामा नचाएको भन्दै चिन्ता व्यक्त गरे । ‘बिचौलियाहरूले आयोजना गरेर तिमीहरू नमिल्ने भए देश माओवादीले लाने भयो । हाम्रो त भविष्य बर्बाद हुने भयो । तिमीहरू पनि सिद्धिने भयौ भनेर माओवादीलाई हटाउन तिमीहरू दुईटा नमिली हुन्न भनेर ती बिचौलियाले अलिअलि पैसा दिएर अलिअलि धम्क्याएर यो सरकार असंवैधानिक, अलोकतान्त्रिक सरकार बन्यो,’ उनले थपे ।
यद्यपि, उनले यी बिचौलियाहरूको नाम भने खुलाएनन् । प्रचण्डले कमिसन खाएर रातारात अर्बौं कुम्ल्याउने बिचौलियाहरू अहिले शक्तिशाली बनेको आरोप लगाउँदै उनीहरूले देशमा उद्योगधन्दाको विकास र रोजगारी सिर्जनामा कुनै योगदान नगरेको बताए । भ्रष्टाचारले जनतालाई गरिब बनाएको भन्दै प्रचण्डले भ्रष्टाचारीलाई लखेट्न आफ्नो पार्टी अभियानमा जुटेको जानकारी दिए ।
अर्को प्रसंगमा प्रचण्डले देशमा बढ्दो ‘पपुलिजम’ (लोकतन्त्र) माथि चिन्ता व्यक्त गरे । इतिहास र विचारविहीन पपुलिजमलाई रोक्न नयाँ ध्रुवीकरण आवश्यक रहेको उनको भनाइ थियो ।
अभियानमा प्रचण्डसँगै माओवादी उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ लगायतका नेताहरूको सहभागिता रहेको छ । शनिबार लमजुङको इशानेश्वर महादेव मन्दिरको अवलोकनपछि आइतबार बिहान माओवादी युद्धका शहीद राममणि भट्टराईको परिवारलाई भेटेका प्रचण्डले सुन्दरबजारमा जनसभालाई सम्बोधन गरेर गोरखा प्रवेश गर्ने कार्यक्रम छ ।








