काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । उनले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र देशलाई अस्तव्यस्ततातर्फ धकेल्ने प्रयास भएको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले सरकारले समयमै आवश्यक कानूनी तथा प्राविधिक पूर्वाधार तयार नगर्दा यो समस्या आएको जिकिर गरे । उनले सामाजिक सञ्जालहरूको नियमन आवश्यक भए पनि त्यसका लागि स्पष्ट नीति र समस्याको पहिचान नगरी गरिने यस्ता निर्णयहरू स्वीकार्य नहुने बताए ।
‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ । यसको हामी घोर विरोध गर्दछौँ,’ पाण्डेले भने, ‘नियमन गर्ने कुरा आवश्यक छ, तर यसका लागि सरकारले कहाँ समस्या हो, के-के हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ ।’
पाण्डेले सामाजिक सञ्जालहरू आधुनिक सञ्चार र सूचना आदानप्रदानको अपरिहार्य माध्यम बनिसकेको भन्दै यिनीहरूको बन्दले नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हुने चेतावनी दिए । उनले सरकारलाई यो निर्णय फिर्ता लिई सरोकारवालाहरूसँगको छलफलबाटै उपयुक्त समाधान खोज्न आग्रह गरे ।








