समाचार सुन्नुहोस :
काठमाडौँ – वसन्तपुर दरबार स्क्वायरमा धार्मिक विधिपूर्वक इन्द्रजात्रा सुरु गरिएको छ। हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो (यः सि) ठड्याएर जात्राको प्रारम्भ गरिएको हो। नेवार समुदायले मनाउने यो पर्व भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु गर्ने प्रचलन छ। त्यसपछि ८ दिनसम्म रथयात्रा, नाचगान, देवी–देवताको पूजा–आजा गरी पर्व मनाइन्छ।
जात्राको अवसरमा काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरी रातो ध्वजा फहराइएको छ। लिङ्गो ठड्याउने दिनलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ र यस दिन भैरवको विशेष पूजा गरिन्छ।शत्रुमाथि विजयको प्रतीकका रूपमा यो पर्व मनाइन्छ। साथै, शक्ति प्राप्तिको प्रतीक मानिने इन्द्रध्वजको पूजा पनि गरिन्छ।जात्रामा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा परम्परागत रूपमा राष्ट्रपति तथा उच्च पदाधिकारीले हनुमानढोकास्थित गद्दी बैठकबाट अवलोकन गर्ने परम्परा छ।
इन्द्रजात्रा अवधिभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच र पुलुकिसी नाच (देवराज इन्द्रको हात्ती ऐरावतको प्रतीक) प्रदर्शन गरिन्छ। लिङ्गो ठड्याएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाएर जात्रा सम्पन्न गर्ने परम्परा छ। यो पर्व काठमाडौं मात्र नभई ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा पनि धुमधामका साथ मनाइन्छ।








