समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले दिने एजेन्डा छ।
सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्ने तयारीमा छन्।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पुनर्विचारका लागि सदनमा पेश गर्ने कार्यसूची पनि रहेको छ।








