समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध दुई हप्ताभित्र शान्तिपूर्ण रूपमा टुंगिएन भने रूसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्।अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि एक हप्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “यो ठूलो निर्णय हुनेछ—प्रतिबन्ध, कर वा दुवै। अथवा यो युद्ध तपाईंहरूको हो, अमेरिकाको होइन भन्न पनि सक्छौं।”
ट्रम्पले युक्रेनस्थित एक अमेरिकी कारखानामाथि भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरे। उक्त आक्रमणबाट आगलागी भई धेरै कामदार घाइते भएका थिए। उनले भने, “म युद्ध र यस्तो आक्रमण दुवैबाट खुसी छैन। अर्को दुई हप्तामा यो युद्ध कुन दिशामा जाने हो स्पष्ट हुनेछ।” उनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता आवश्यक रहेको बताए। “दुवै नेताहरू भेटून् भन्ने मेरो चाहना छ, नभए यसको कारण बुझ्नुपर्ने हुन्छ,” उनले भने।
ट्रम्पले आफ्नो कार्यकालमा सात युद्ध रोकेको र तीन सम्भावित युद्ध टारेको दाबीसमेत गरे। यसअघि अगस्ट १८ मा जेलेन्स्कीले युद्ध अन्त्यबारे छलफल गर्न युरोपेली नेताहरूसँग वाशिङ्टन भ्रमण गरेका थिए। तर अगस्ट १५ मा अलास्कामा भएको ट्रम्प–पुटिन शिखर सम्मेलनमा भने युद्धविरामबारे सहमति जुट्न सकेको थिएन।








