Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सत्ता साझेदार दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरिरहेका बेला प्रमुख सत्ता घटक नेपाली कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले त्यसप्रति गम्भीर असहमति जनाएका छन् । उपसभामुखले देशको प्रतिनिधित्व गर्दै विदेश भ्रमण गरिरहेकै समयमा उनलाई हटाउन हस्ताक्षर संकलन गर्नु राजनीतिको सुसंस्कृत अभ्यास नभएको भन्दै शर्माले उक्त कदमको विपक्षमा आफूलाई उभ्याएका हुन् ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनको तयारीका लागि भैरहवामा रहेका महामन्त्री शर्माले उपसभामुख प्रकरणमा आफ्नो प्रष्ट विमति रहेको बताए । ‘उपसभामुख प्रकरणमा म यहींबाट आफ्नो असहमति जनाइसकेको छु,’ उनले भने ।

महामन्त्री शर्माले उपसभामुख रानाले अमेरिकी दूतावासलाई सिधै पत्र लेख्नु गम्भीर गल्ती भएको स्वीकार गरे पनि सोही गल्तीलाई आधार बनाएर पदमुक्त नै गर्ने कदम भने अनुपयुक्त भएको जिकिर गरे । विशेषगरी, पदमा आसिन व्यक्ति विदेशमा हुँदा अपनाइएको प्रक्रियाप्रति उनले कडा टिप्पणी गरे । ‘प्रधानमन्त्री, सभामु-ख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएकै बेला हस्ताक्षर जुटाइदिनु भनेको कति सुसंस्कृत कुरा हो ?’

यो प्रक्रियाप्रति आफ्नो स्पष्ट विमति रहेको जनाउँदै शर्माले पार्टी संसदीय दलको कार्यालयमा संकलन भइरहेको हस्ताक्षरमा आफूले हस्ताक्षर नगरेको समेत खुलासा गरे । उनले काठमाडौं फर्किएलगत्तै यस विषयलाई पार्टीको आन्तरिक बैठकमा गम्भीर रूपमा उठाउने बताएका छन् ।

उपसभामुख रानामगर हाल अमेरिका भ्रमणमा छिन् । यही बेला सत्तारुढ दलहरू कांग्रेस र एमालेले उनलाई पदबाट हटाउन सांसदहरूको हस्ताक्षर संकलन अभियान चलाइरहेका छन् । सत्ता गठबन्धनकै एक शीर्ष नेताबाट यस प्रकारको असहमति सार्वजनिक भएपछि उपसभामुखलाई हटाउने प्रक्रिया थप पेचिलो बन्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया