समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य जनशक्ति अभाव भएको भन्दै यसबारे गम्भीर हुनुपर्ने समय आएको बताएका छन्।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले धेरै विषयमा भावना र गलत धारणा हावी भएको बताए। उनले सार्वजनिक पद पाउन विदेशी स्थायी बसोबास (पीआर) तीन महिना अघि त्याग्नुपर्ने नियमलाई ‘बकवास’ भन्दै पुनः विचार गर्न सुझाव दिए। महतले उदाहरण दिँदै भने, “भारतका रघुरामन गभर्नर हुँदा अमेरिकाको पीआर राखेका थिए। गभर्नर छाडेपछि उनी अमेरिका फर्किएर पढाउन गए। पीआर भनेको बसोबासको सुविधा मात्र हो, नागरिकता होइन, राजनीतिक अधिकार पनि हुँदैन। तर हामीले यसलाई अनावश्यक रूपमा ठूलो बनायौं।”
उनका अनुसार, यदि तीन महिना अघि पीआर छाड्ने व्यवस्था कायम राख्ने हो भने नेपाल सरकारले फर्किने व्यक्तिलाई कामको ग्यारेन्टी दिनुपर्छ, नत्र धेरै योग्य मानिस देश फर्किन इच्छुक हुने छैनन्।








