काठमाडौं – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको गम्भीर त्रुटिलाई लिएर छानबिन समितिले जिम्मेवार ठहर्याएपछि र पार्टीभित्रबाटै चर्को दबाब बढेपछि खतिवडाले मंगलबार प्रतिनिधि सभाको बैठकबाटै राजीनामाको घोषणा गरेका हुन् ।
संसदमा बोल्दै उनले आफू इमान्दार जनप्रतिनिधि भएको र त्रुटि बाहिर आएकै दिन सरकारी सुविधा फिर्ता गरेको दाबी गरे । ‘मबाट र समितिबाट त्रुटि भएको होइन, यो कर्मचारीतन्त्रको चलखेल हो,’ खतिवडाले भने, ‘किसुनजीबाट दीक्षित भएकाले मैले पदभन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको हुँ ।’
यसअघि, कांग्रेस सांसद जीवन परियार नेतृत्वको छानबिन समितिले प्रतिवेदनमा भएको त्रुटिमा सभापति खतिवडालाई सीधै दोषी नभने पनि हस्ताक्षरकर्ताको हैसियतले ‘राजनीतिक र नैतिक रूपमा जिम्मेवार’ ठहर्याएको थियो । प्रतिवेदनले सभापतिको समन्वयकारी भूमिकामा कमी रहेको निष्कर्ष निकालेको थियो ।
प्रतिवेदन सार्वजनिक भएपछि पनि पद नछाडेका खतिवडालाई प्रमुख प्रतिपक्षी एमालेका साथै आफ्नै पार्टीभित्रबाट समेत राजीनामा दिन दबाब बढेको थियो । मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले नै राजीनामा दिन निर्देशन दिएपछि उनले पदत्याग गरेका हुन् ।








