समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। मृतकमध्ये एक बालक समेत छन्।
टेक्सासको डल्लासस्थित एक अपार्टमेन्टमा शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया श्रीमती रञ्जना श्रेष्ठ र ३ वर्षे छोरा प्रनिशको मृत्यु भएको सीबीएस न्युजले जनाएको छ।
रञ्जना र छोरा प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परे। गम्भीर घाइते ललितको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ललित करिब १५ वर्षअघि पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका थिए। रञ्जनाको माइत भने काठमाडौंमा रहेको छ।








