काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र अफ्रिकी देशहरूका ‘भाडाका सैनिक’ हरू पनि संलग्न रहेको गम्भीर दाबी गरेका छन् । देशको पूर्वी मोर्चामा खटिएका युक्रेनी सैनिकहरूले दिएको रिपोर्टको आधारमा जेलेन्स्कीले यो सनसनीपूर्ण खुलासा गरेका हुन् ।
सोमबार देशको उत्तर-पूर्वी खार्किभ क्षेत्रअन्तर्गतको भोभ्चान्स्क मोर्चामा रहेका सैनिकहरूलाई भेटेपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् । उनले ५७औं ब्रिगेडका योद्धाहरूसँग भेट गरेको र मोर्चाको अवस्था, ड्रोन आपूर्ति र सैनिक भर्तीजस्ता विषयमा छलफल गरेको बताएका छन् ।
आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘यस क्षेत्रमा रहेका हाम्रा योद्धाहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशहरूका भाडाका सैनिकहरूको संलग्नता रहेको रिपोर्ट गरिरहेका छन् । हामी यसको जवाफ दिनेछौँ ।’
Today, I was with those defending our country in the Vovchansk direction – the warriors of the 17th Separate Motorized Infantry Battalion of the 57th Brigade named after Kish Otaman Kost Hordiienko.
We spoke with commanders about the frontline situation, the defense of… pic.twitter.com/40XsGHZU0T
— Volodymyr Zelenskyy / Володимир Зеленський (@ZelenskyyUa) August 4, 2025
जेलेन्स्कीको यो दाबीले रुसले विदेशी नागरिकहरूलाई आफ्नो सेनामा भर्ती गरिरहेको विषयलाई पुनः सतहमा ल्याएको छ । यसअघि पनि जेलेन्स्कीले रुसका लागि चिनियाँ लडाकुहरू लडिरहेको आरोप लगाएका थिए, जसलाई चीनले अस्वीकार गर्दै आएको छ ।
यसअघि अक्टोबर २०२४ मा सार्वजनिक रिपोर्टहरूले रुसी सेनालाई सघाउन हजारौं उत्तर कोरियाली सैनिकहरू युक्रेनमा तैनाथ गरिएको दाबी गरेका थिए । जेलेन्स्कीको पछिल्लो भनाइले युद्धको जटिलता र यसको अन्तर्राष्ट्रिय आयामलाई थप उजागर गरेको छ । आफ्नो भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले देशको रक्षाका लागि लडिरहेका सैनिकहरूलाई राजकीय सम्मान प्रदान गर्दै उनीहरूको बहादुरीको प्रशंसासमेत गरेका थिए ।








