काठमाडौं – रुसले पूर्वी युक्रेनको चासिव-यार सहर आफ्नो सेनाले कब्जा गरेको दाबी गरेको छ । त्यहाँ करिब १८ महिनादेखि लडाइँ चलिरहेको थियो । युक्रेनले रुसी सेनाले चासिव-यारनजिकका स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ ।
यो सहर बखमुतबाट केही माइल पश्चिममा अवस्थित छ । तर, युक्रेनले सहर गुमाएको अस्वीकार गरेको छ । ‘चासिव-यार अझै ११औँ आर्मी कोरको नियन्त्रणमा छ,’ कोरले भनेको छ ।
रुसी रक्षा मन्त्रालयले ड्रोन फुटेज सार्वजनिक गर्दै आफ्ना सैनिक सहरका केही भागमा पुगेका र चार हजार २०० भन्दा बढी भवन र संरचना खाली गराइएको साथै करिब ५० युक्रेनी सैनिकलाई बन्दी बनाइएको जनाएको छ । चासिव-यारमा युद्धपूर्व जनसंख्या १२ हजार थियो । तर, दुई वर्षदेखि जारी हवाई र स्थल आक्रमणबाट सहर ध्वस्त भएको छ ।
रुसी सेनाले गत वर्ष अप्रिलमा बखमुतबाट युक्रेनी सैनिकलाई बाहिर धकेलेपछि चासिव-यारमा आक्रमण थालेको थियो । युक्रेनको ओपन-स्रोत म्यापिङ साइट ‘डीपस्टेट’ले युद्धको अग्रमोर्चामा किभका सैनिक अझै सहरको पश्चिमी किनारमा रहेको देखाएको छ ।
रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई छिमेकी क्षेत्रमा झन्डा गाडिएको देखाइए पनि उक्त भूभाग रुसको नियन्त्रणमा नरहेको डीपस्टेटले जनाएको छ । दाबी पुष्टि भए चासिव-यारको कब्जाले रुसी सेनालाई उच्च भूभाग उपहार मिल्नेछ । र, डोनेत्स्क क्षेत्रका स्लोभियान्स्क, क्रामातोस्र्क र कोस्तियान्तिनिभ्काजस्ता युक्रेनका सहरबाट आउन सक्ने खतरा झेल्न सहज हुन्छ ।








