काठमाडौं – सम्भावित चिनियाँ आक्रमणको बढ्दो खतरालाई मध्यनजर गर्दै स्वशासित टापु ताइवानले आफ्नो इतिहासकै सबैभन्दा ठूलो नागरिक सुरक्षा तथा सैन्य पूर्वाभ्यास आयोजना गरेको छ । राजधानी ताइपेई लगायत प्रमुख सहरहरूमा हवाई आक्रमणको साइरन बज्दा सडकहरू खाली भए, यातायात ठप्प भयो र लाखौँ नागरिकहरूलाई घरभित्रै बस्न निर्देशन दिइयो, जसले गर्दा जनजीवन केही समयका लागि पूर्ण रूपमा रोकियो ।
यो अभ्यास ताइवानको वार्षिक सैन्य युद्ध अभ्यास ‘खान ग्वाअङ’ सँगसँगै आयोजना गरिएको हो, जसले यस वर्षको तयारीलाई अझ बृहत् र गम्भीर बनाएको छ । चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्दै आएको छ र आवश्यक परेमा बल प्रयोग गरेरै पुन: एकीकरण गर्ने चेतावनी दिँदै आएको छ । गत वर्ष विलियम लाई राष्ट्रपतिमा निर्वाचित भएपछि बेइजिङ र ताइपेईबीचको तनाव झनै चुलिएको छ । चीनले राष्ट्रपति लाईलाई पृथकतावादीको संज्ञा दिने गरेको छ ।
यस वर्षको अभ्यासलाई अर्बन रिजिलिअन्स् एक्सरसाइजेज् अर्थात् सहरी भेगमा जोखिम वहन गर्ने क्षमता जाँच्ने अभ्यासको नाम दिइएको छ । मङ्गलबारदेखि शुक्रबारसम्म चल्ने यो अभ्यासको क्रममा हरेक दिन विभिन्न सहरमा आधा घण्टाका लागि हवाई आक्रमणको साइरन बजाइएको थियो ।
अभ्यासका क्रममा तोकिएका क्षेत्रका बासिन्दाहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो र निर्देशन उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने चेतावनी दिइएको थियो। पसल, रेस्टुरेन्ट र अन्य व्यवसायहरू पूर्ण रूपमा बन्द गरिए । सडकमा गुडिरहेका सवारीसाधनलाई तत्काल रोकेर चालकहरूलाई नजिकैको आश्रयस्थलमा जान भनियो । ताइपेईमा आपतकालीन सेवाका कर्मचारीहरूले बजार, विद्यालय, सबवे स्टेशन र राजमार्ग खाली गराउने तथा सामूहिक हताहतीको अवस्थामा उद्धार र उपचार गर्ने जस्ता कार्यहरूको नक्कली अभ्यास गरेका थिए ।
सैन्य शक्ति प्रदर्शन र नागरिकको मिश्रित प्रतिक्रिया
यो नागरिक अभ्याससँगै ‘खान ग्वाअङ’ सैन्य अभ्यासमा २२,००० भन्दा बढी सैनिकहरूले भाग लिएका छन्, जुन गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो। यस क्रममा अमेरिकामा निर्मित ‘हिमार्स’ मोबाइल क्षेप्यास्त्र प्रणाली र ताइवानमै बनेका रकेटजस्ता अत्याधुनिक हतियारहरूको परीक्षण गरियो । सेनाले सहरी क्षेत्रमा युद्ध लड्ने र चीनबाट हुन सक्ने मिथ्या सूचना तथा दुष्प्रचारको सामना गर्ने अभ्यासमा पनि ध्यान केन्द्रित गरेको थियो ।
यद्यपि, सरकारको यो बृहत् तयारीप्रति ताइवानी नागरिकको भने मिश्रित प्रतिक्रिया छ । गत अक्टोबरमा गरिएको एक सर्वेक्षणले ६० प्रतिशतभन्दा बढी ताइवानीहरू आगामी पाँच वर्षमा चीनले आक्रमण गर्छ भन्नेमा विश्वास नगर्ने देखाएको थियो । ताइपेईका एक २९ वर्षीय वित्त पेशेवर बेनले भने, ‘चीनले आक्रमण गर्ने सम्भावना कम छ । तर यस्ता अभ्यासहरू हरेक देशका लागि आवश्यक छन् ।’








