काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे अनुबन्धका लागि रियल मड्रिड मोटो रकम खर्चन तयार देखिएको छ ।
फ्रान्सको एक टेलिभिजनका अनुसार एमबाप्पे अनुबन्ध गर्न रियलले २०० मिलियन युरो खर्चन तयार देखिएको जनाएको छ । ला लिगा क्लब रियल एमबाप्पे अनुबन्धका लागि लामो समयबाट लागि परेको छ । एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो ।
एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो । २४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन् । पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए । एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन् ।








