काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबल लिडर बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ ।

समूह ‘एच’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन बुण्डेस लिगा लिडर बोरुसिया डर्टमुण्ड साइप्रसको क्लब एपोइल निकोसियासँग बराबरीमा रोकिएको हो । यसअघिका दुई खेल गुमाएको बोरुसियाले निकोसियासँग १–१ को बराबरी गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६२ औं मिनेटमा पोटेको गोलबाट घरेलु टोली निकोसियाले अग्रता लियो । त्यसको पाँच मिनेटपछि पापास्टाथोपोउलोसले गोल गर्दै डर्टमुण्डलाई बराबरी गराए पनि टिमको अघिल्लो चरण यात्राको सम्भावनाका लागि काफी भने भएन ।

यो बराबरीपछि सन् २०१३ को उपविजेता बोरुसिया डर्टमुण्ड यसपटक समूह चरणबाटै बाहिरिने पक्का भएको हो । डर्टमुण्डले अब समूह चरणको खेलमा आउँदो नोभेम्बरमा निकोसिया र टोटनह्याम तथा डिसेम्बरमा रियल मड्रिडसँग खेल्ने छ ।














