काठमाडौं – पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गरि पिपल्स च्वाईस अवार्डको उत्कृष्ट ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चका सचिव राजु घिसिङ संयोजकत्वको छनोट समितिले तयार पारेको बर्षका चर्चित खेलाडीको सूचीमा क्रिकेटका दीपेन्द्र सिंह ऐरी देखी फुटबलका सुजल श्रेष्ठसम्म अटाएका छन् । त्यस्तै, पौडीबाज गौरिका सिंह, एथलेटिक्सकी कान्छीमाया कोजु र जुडोकी फुपुल्हामु खत्री पिपल्स च्वाईस अवार्ड विधाको मनोनयनमा परेका छन् ।
एसएमएस भोटिङ र फेसबुक लाईकका आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडीले पिपल्स च्वाईस अवार्ड जित्नेछ । अवार्ड विजेताले पल्सर मोटरसाईकल प्राप्त गर्नेछ । भोटिङ र फेसबुक लाईक आजैबाट सुरु गरिएको छ । मनोनयनमा परेका खेलाडीलाई भदौ २५ गते राति १२ बजे सम्म भोटिङ र फेसबुक लाईक गर्न सकिनेछ । चार फेसबुक लाईकलाई एक भोट मानिने आयोजकले प्रष्ट पारेको छ ।
खेलाडीलाई भोट गर्न म्यासेज बक्समा पल्सर लेखेर एक स्पेस छाड्ने र खेलाडीको नाममा अगाडीको अक्षर र थारको अगाडीको अक्षर टाईप गरि ३३१३१ मा पठाउन सकिन्छ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक बर्ष आयोजना गर्दै आएको नेपाली खेलकुदकै सर्वार्धिक प्रतिष्ठित अवार्ड प्रतियोगिता भदौ २६ गते हुदैछ ।








