लण्डन – हिन्दुहरुको महान चाड बिजया दशमीको सातौ दिन फूलपातीको अवसरमा लण्डनको प्लम्स्टिडमा नेपाली समुदाय द्रारा स्थापित पशुपति मन्दिरमा हिजो साँझ बिशेष तामझामका साथ फूलपाती भित्र्याईएको छ ।
मन्दिर परिसरको वरिपरि शंख घन्ट तथा मृदंग बजाउदै उपस्थित कन्या एबं भक्तालुहरुले परिक्रमा गर्ने क्रममा फूलपाती टिपेर दुइ जना पुजारीहरूले बोकेको सिङ्गारिएको डोलीमा संकलन गरे पश्चात फुलपातीलाई मन्त्रोचारणका साथ मन्दिरमा भित्र्याईएको थियो ।
यसैगरी बेलायती सैनिकमा कार्यरत गोर्खाली नेपालीहरुको ब्रिगेड रहेका बेलायतका सहरहरु मेडस्टोन र अल्डर्शटमा पनि पनि दुर्गापूजा हुनुका साथै फूलपाती भित्र्याईएका खबरहरु प्राप्त भएका छन ।
मन्दिरमा नव दुर्गा आरम्भ भए देखि नै दुईजना पण्डित पुजारी द्वारा दुर्गा स्थापना गर्दै जमरा राखी बिशेष पूजाआजा तथा सप्तासती पाठ एबम प्रवचन संचालन हुदै आएको छ । आगामी शुक्रवार बडा दशैको दिनमा बिहान नौ बजे देखि नै टिका जमरा वितरण गर्ने कार्यक्रम रहेकोले मन्दिर कमिटीले भक्तजनहरुमा उपस्थितिको लागि आह्वान गरेको छ ।
झण्डै डेढ लाख नेपाली बसोवास गर्ने बेलायतमा नेपालीहरुमाझ दशैको रमझम शुरु भैसकेको छ । गत आइतवार नेपाली दूतावास लण्डनमा स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ औपचारिक दशैँ भोजको आयोजना गरिएको थियो । यसका अलावा विभिन्न सामाजिक संघ संस्था तथा आयोजकहरुबाट पनि दशैँ कार्यक्रमहरु आयोजना गरिदै आएका छन । यहांका दशैँ मनाउने नेपालीहरु दशैमा रमाइलो गर्न छुट्टी मिलाउने तछाड मछाडमा देखिन्छन ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक प्रचलन रहेको छ । नेपालमा हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँको सामाजिक चहलपहल नेपालमा बिशेष रुपमा शुरु भईसकेको छ । ***








