टोकियो – जापानमा रहेका गल्कोटवासीहरूको साझा संस्था ‘गल्कोट समाज जापान’ले आफ्नो आगामी क्षेत्रीय र नवौं केन्द्रीय अधिवेशनको मिति घोषणा गरेको छ । संस्थाको विधान र वार्षिक कार्यतालिका अनुसार नयाँ नेतृत्व चयन तथा भावी कार्यदिशा तय गर्न अधिवेशनको मिति तोकिएको हो ।
समाजद्वारा जारी सूचनाअनुसार जापानभर क्रियाशील सम्पूर्ण क्षेत्रीय समितिहरूको अधिवेशन सन् २०२६ जुन ३० तारिखका दिन एकैसाथ सम्पन्न गरिनेछ । त्यसैगरी, संस्थाको नवौं केन्द्रीय अधिवेशन २०२६ जुलाई २१ तारिखमा आयोजना गर्ने निर्णय भएको समाजका महासचिव दिलीप कँडेलले जानकारी दिए । महासचिव कँडेलका अनुसार यस अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको भावी कार्ययोजना, सांगठनिक सुदृढीकरण र प्रवासमा रहेका नेपाली समुदायको हितमा महत्त्वपूर्ण निर्णयहरू गर्नेछ ।
अधिवेशनमार्फत संस्थालाई अझ बढी पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र सहयोगको भावना प्रवर्द्धन गर्दै आएको यस समाजले सामाजिक, सांस्कृतिक र परोपकारी क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । संस्थाले आजसम्म प्राप्त गरेको यो उचाइ र प्रतिष्ठा जापानवासी सम्पूर्ण नेपालीहरूको निरन्तर साथ, सहयोग र विश्वासको प्रतिफल भएको भन्दै समाजले सहयोगी दाता, शुभेच्छुक, सल्लाहकार तथा पूर्वपदाधिकारीहरूप्रति विशेष आभार प्रकट गरेको छ ।
अधिवेशनका क्रममा संस्थाको प्रगति तथा वार्षिक प्रतिवेदनहरू प्रस्तुत गरिने भएकाले त्यसमाथि गहिरो समीक्षा गरी रचनात्मक सुझाव दिन समाजले सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
आगामी यात्रालाई अझ परिणाममुखी र समुदायमैत्री बनाउन सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याउँदै समाजले अधिवेशनलाई भव्य र सभ्य रूपमा सफल पार्न आह्वान गरेको छ । अधिवेशनको विस्तृत कार्यतालिका, आयोजनास्थल र प्रतिनिधि चयन प्रक्रियाबारे क्षेत्रीय समिति र केन्द्रीय सचिवालयमार्फत समयमै जानकारी गराइने समाजले जनाएको छ ।








