टोकियो – क्यालिफोर्नियाका बेन जेकोबी र एरियलाले आफ्नो विवाहका लागि अमेरिकाका चिरपरिचित ठाउँहरू रोजेनन् । बरु, उनीहरूले प्रशान्त महासागर पार गरेर जापानको ‘लेक कावागुची’ रोजे, जहाँ पृष्ठभूमिमा माउन्ट फुजी मुस्कुराइरहेको थियो ।
सन् २०२३ को वसन्त ऋतुमा चेरी ब्लासम (सकुरा) फुलेको समयमा उनीहरूले परम्परागत यहूदी संस्कारअनुसार विवाह गरे । यो जोडी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय जापान विदेशी जोडीहरूका लागि ‘वेडिङ डेस्टिनेशन’ (विवाह गर्ने थलो) को रूपमा निकै लोकप्रिय बन्दै गएको छ । यसलाई जापानमा ‘इनबाउन्ड वेडिङ’ ट्रेन्ड भन्न थालिएको छ ।
विदेशी पर्यटकहरूको संख्याले नयाँ कीर्तिमान कायम गरिरहँदा, यसले जापानी विवाह उद्योग, फोटोग्राफर र पर्यटन क्षेत्रका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ । ‘नोम्याड वेडिङ्स’ जस्ता कम्पनीहरूका अनुसार सन् २०२५ को तुलनामा २०२६ मा विवाहका लागि सोधपुछ गर्नेहरूको संख्या साप्ताहिक रूपमा ४ बाट बढेर २४ पुगेको छ ।
यसको मुख्य कारण जापानी पप संस्कृति (एनिमे, निन्टेन्डो) र विश्वप्रसिद्ध ब्राण्डहरू (टोयोटा, सोनी) प्रतिको लगाव रहेको व्यवसायीहरू बताउँछन् । धेरैजसो विदेशीहरू २५ देखि ४० वर्ष उमेर समूहका छन्, जसले जापानलाई आफ्नो ‘ड्रिम डेस्टिनेशन’ मान्ने गर्छन् ।
अर्को मुख्य कारण खर्च पनि हो । अमेरिकामा एउटा ठूलो विवाह समारोहमा करिब १ लाख डलरसम्म खर्च हुने ठाउँमा जापानमा ५ देखि ७ हजार डलर (करिब ७ देखि १० लाख येन) मा प्याकेज पाइन्छ । कमजोर जापानी येनका कारण विदेशीहरूका लागि यहाँ विवाहसँगै घुमघाम गर्न पनि निकै सस्तो परेको छ । एरियलाका अनुसार अमेरिकामा एक दिनको भोजमा गर्ने खर्चले जापानमा १५ जना परिवारका सदस्यसहित दुई हप्ताको भ्रमण र भव्य विवाह सम्पन्न भयो ।
अध्ययनका अनुसार जापानको ‘डेस्टिनेशन वेडिङ’ बजार सन् २०२६ सम्म २ अर्ब डलर र सन् २०३६ सम्म ४.३ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । विज्ञहरूका अनुसार यसले क्योटो र टोकियो जस्ता प्रसिद्ध शहर मात्र नभई ऐतिहासिक किल्ला र प्राकृतिक सौन्दर्यले भरिएका ग्रामीण क्षेत्रको पर्यटनमा पनि ठूलो टेवा पुग्नेछ ।








