
टोकियो – यदि तपाईंले नयाँ जागिरका लागि आवेदन दिनुभएको छ र प्रारम्भिक छनोट पार गर्नुभयो भने, अब तपाईंको अन्तर्वार्ता एआईसँग हुन सक्ने सम्भावना बढेको छ ।
एआईबाट तयार गरिएका आवेदनहरूको संख्या तीव्र रूपमा बढ्न थालेपछि भर्ना प्रक्रियामा संलग्न कम्पनीहरूले पनि एआईकै सहारा लिन थालेका छन् । पछिल्लो समय धेरै कम्पनीहरूले उम्मेदवारहरूको प्रारम्भिक छनोटका लागि च्याटबट, भिडियो अवतार तथा स्वचालित प्रणालीमार्फत अन्तर्वार्ता लिन थालेका छन् ।
भर्ती प्रक्रियामा एआईको प्रयोग भने नयाँ होइन । कम्पनीहरूले वर्षौंदेखि एआईमा आधारित मूल्याङ्कन प्रणाली प्रयोग गर्दै आएका छन् । तर प्रविधिको विकाससँगै यसको प्रयोग झन् विस्तार हुँदै गएको छ ।
यद्यपि धेरै जागिर खोज्ने व्यक्तिहरूले एआईसँग अन्तर्वार्ता दिन असहज र अनौठो अनुभव हुने बताएका छन् । हालैको एक अध्ययनअनुसार एआईद्वारा सञ्चालित अन्तर्वार्तामा सहभागी हुनुपर्ने अवस्थामा कतिपय आवेदकले आवेदन प्रक्रिया बीचमै छोड्ने गरेका छन् ।
विशेषज्ञहरूका अनुसार अन्तर्वार्ता एआईसँग भए पनि तयारी गर्ने तरिका भने परम्परागत अन्तर्वार्ताजस्तै रहन्छ । जागिरको विवरण राम्ररी बुझ्ने, कम्पनीबारे अध्ययन गर्ने र सम्भावित प्रश्नहरूको अभ्यास गर्ने काम अझै महत्वपूर्ण छ ।
करिअर प्रशिक्षक अमान्डा अगस्टिनका अनुसार उम्मेदवार जति धेरै तयारी गर्छन्, एआईसँगको अन्तर्वार्तामा पनि त्यति नै प्रभावकारी रूपमा प्रस्तुत गर्न सजिलो हुन्छ ।
विशेषज्ञहरूले उत्तर अभ्यास गर्दा मनमनै नभई ठूलो स्वरमा बोल्ने अभ्यास गर्न सुझाव दिएका छन् । एआई प्रणालीले उम्मेदवारको बोली र उत्तरको सामग्री विश्लेषण गर्ने भएकाले स्पष्ट र व्यवस्थित रूपमा उत्तर दिनुपर्ने बताइन्छ ।
एआई अन्तर्वार्तामा उम्मेदवारले आफ्नो अनुभव, सीप र उपलब्धिहरूलाई तथ्याङ्क तथा नतिजासहित प्रस्तुत गर्नुपर्ने हुन्छ । अस्पष्ट र सामान्य उत्तर दिने उम्मेदवारहरू प्रायः कमजोर मूल्याङ्कनमा पर्ने गरेको विज्ञहरूको भनाइ छ ।
यसका लागि ‘स्टार’ विधि उपयोगी मानिन्छ । यसमा कुनै विशेष अवस्था, जिम्मेवारी, आफूले चालेको कदम र प्राप्त नतिजा क्रमबद्ध रूपमा व्याख्या गरिन्छ ।
विशेषज्ञहरूले अन्तर्वार्ताका क्रममा एआई प्रयोग गरेर उत्तर खोज्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । यस्ता प्रणालीहरूले कृत्रिम रूपमा तयार गरिएका उत्तरहरू पहिचान गर्न सक्ने भएकाले उम्मेदवार तत्काल अयोग्य ठहरिन सक्ने जोखिम रहने बताइएको छ ।
भिडियो कलमार्फत हुने एआई अन्तर्वार्तामा प्रकाशको व्यवस्था, क्यामेराको एङ्गल, साउन्डको गुणस्तर तथा व्यावसायिक प्रस्तुति पनि उत्तिकै महत्वपूर्ण हुने विज्ञहरूको सुझाव छ ।
भर्ना प्रक्रियामा एआईको प्रयोग तीव्र रूपमा बढिरहेका बेला भविष्यमा जागिर खोज्नेहरूले मानव अन्तर्वार्ताकारसँग मात्र होइन, कृत्रिम बुद्धिमत्तासँग पनि प्रतिस्पर्धात्मक रूपमा संवाद गर्न तयार हुनुपर्ने देखिएको छ ।








