काठमाडौँ – काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्कअन्तर्गत सञ्चालन हुँदै आएको ग्यालेक्सी टेलिभिजनलाई भाडा बक्यौता तिर्न तथा घर खाली गर्न १५ दिनको समय दिएको छ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै गोरखा मिडिया नेटवर्कलाई उक्त अवधि भित्र बाँकी रहेको भाडा रकम बुझाउन र भवन खाली गर्न निर्देशन दिएको हो। बालुवाटारस्थित वडा नम्बर ३ मा रहेको मृगेन्द्रप्रसाद मिश्रको घर भाडामा लिएर ग्यालेक्सी टेलिभिजन सञ्चालन हुँदै आएको थियो। सो भवन खाली गर्न यसअघि अदालतले समेत आदेश दिइसकेको थियो। साउन २०८२ मा अदालतले बहाल रकम असुल उपर गरी घर खाली गराउन निर्देशन दिएको थियो।
साथै काठमाडौँ महानगरपालिकाको न्यायिक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन परमादेश समेत जारी भएको थियो। त्यसकै आधारमा महानगरले पुनः गोरखा मिडिया नेटवर्कलाई औपचारिक रूपमा १५ दिनभित्र घर खाली गर्न सूचना जारी गरेको हो।








