टोकियो – फ्रान्समा आयोजित विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’मा जापानी अभिनेत्री ताओ ओकामोटो र बेल्जियम-फ्रान्सेली कलाकार भर्जिनिया एफिराले संयुक्त रूपमा ‘उत्कृष्ट अभिनेत्री’को पुरस्कार जितेका छन् । शनिबार राति गरिएको यो घोषणासँगै ओकामोटो कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्ने जापानको इतिहासमै पहिलो कलाकार बनेकी छिन् ।
यी दुवै अभिनेत्रीले जापानी निर्देशक र्युसुके हामागूचीद्वारा निर्देशित चलचित्र ‘अल अफ अ सडन’मा मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्रले क्यान्सरसँग जुधिरहेकी एक थिएटर निर्देशक (ओकामोटो) र एक हेरचाह केन्द्रकी निर्देशक (एफिरा) बीचको भावनात्मक र गहिरो मित्रताको कथालाई पर्दामा उतारेको छ ।
यसैगरी, महोत्सवको सबैभन्दा प्रतिष्ठित सर्वोच्च पुरस्कार ‘पाल्मे डी’ओर’ भने रोमानियाली निर्देशक क्रिस्टियन मुङ्गियुको चलचित्र ‘फ्योर्ड’ले प्राप्त गरेको छ । जापानी चलचित्र क्षेत्रका लागि यो ठूलो उपलब्धिको रूपमा हेरिएको छ । विशेषगरी निर्देशक हामागूचीका चलचित्रहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सफलता पाइरहेका छन् ।








