
नेपाल एक बहुजातीय, बहुभाषी, बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । यति सानो देशमा यति धेरै भाषा, धर्म, सँस्कृति र जातजातिहरुको निर्माण कसरी हुन गयो ? विभिन्न जातजाति र भाषाभाषीको निर्माणको परिस्थिति कसरी बन्दै गयो भन्ने प्रश्नको उत्तर खोज्ने प्रयत्न गर्ने छौं आज हामी । तर कतिपय ठूला–ठूला देशहरुमा धेरै जनसंख्या भएपनि किन एउटै खालको भाषा र सँस्कृतिको विकास भएको छ ? विभिन्न जात जातीहरूको शारीरिक बनावट, छालाको रंग, लामो र छोटो नाकको विकास कसरी भयो ? के जातजाति र नाकको आकारले मानव जातिको विकास र एकतामा असर गर्छ ? आज हामी यिनै विषयमा गहन चर्चा गर्ने छौं ।
नेपालमा धेरै लेखक, साहित्यकार, इतिहासकार तथा बौद्धिक जमातले विभिन्न समय र कालखण्डमा विविध जातजातिको विषयमा लेख रचना तयार गर्नुभएको छ तर ती लेख रचनाहरुले समाजमा कतिपयले राम्रो प्रभाव पारेका छन् भने कपियका लेख रचनाहरूले समाजमा नकारात्मक परिणाम देखाएका छन् । कुनै पनि जातजातिले आफ्नो जातजातिको बारेमा जान्न खोज्नु, थाहा पाउने प्रयत्न गर्नु नराम्रो कुरो होइन तर त्यस प्रकारको, खोज र जिज्ञासाले समाज र मानव विकासमा नकारात्मक असर ल्याउनु निश्चित रुपमा राम्रो हुँदैहोईन । त्यसैले तथ्यहरुका आधारमा सत्य पत्ता लगाएर तयार गरिएका लेख रचनाले नै सही र सकारात्मक परिणाम ल्याउन सक्छन् भन्ने कुरामा हामीले विश्वास गर्नुपर्छ । यदी हामीले विषयवस्तुको गाँठी कुरा पहिल्याउने प्रयत्न गर्यौं भने पक्कै पनि रचना तथा हाम्रो खोज उत्कृष्ट बन्न सक्छ र त्यसले हामी र हाम्रो समाज विकासमा राम्रो भूमिका खेल्न सक्छ । त्यसकारण हामीले यहाँ वैज्ञानिक तथ्यहरुका आधारमा जातजातिको उत्पत्ति, विकास, भाषाको विकास तथा जातजातिको जन्म, नाकको आकारको निर्माणका विषयमा पनि खोतल्ने प्रयास गरिएको छ ।
समय परिवर्तनशिल छ । यो गतिशिल दुनियाँमा समय धेरै छिटोछिटो अघि बढिरहेको छ । अहिले सबैका हात हातमा स्मार्ट फोनहरु उपलब्ध छन् । चाहेको खण्डमा उनीहरुले इमेल, इन्टरनेट तथा एआईको माध्यमबाट संसार र जातजातिको बारेमा विस्तृत अध्ययन गर्न सक्छन् । आजभन्दा सातलाख वर्ष, तिनलाख साठीहजार वर्ष, एकलाख पचासहजार वर्ष र एकलाख बिसहजार वर्ष पहिला सबै मानवहरुको उत्पत्ति अफ्रिकाको केन्या, नाइजेरियामा भएको थियो त्यहींबाट स्थानान्तरण भएको थियो भन्ने कुरा आजसम्मका वैज्ञानिक अध्ययन र अनुसन्धानले देखाएको छ । लाखौं वर्ष पहिला अफ्रिका महादेश र एशिया महादेश एकआपसमा जोडिएका थिए । हो त्यही समयमा कतिपय मानवहरु अफ्रिकामा खडेरी, भोकमरी आदी समस्याका कारण खाना र सुरक्षित बासस्थानको खोजीमा त्यहाँबाट हिड्न शुरु गरे । मानिसहरु हिड्दै–हिड्दै अहिलेको अरबको खाडी हुँदै भारत आईपुगे । भारतको सिन्धुघाँटी, गुजराततिरबाट केही मानिसहरु कुवेत, इरान हुँदै युरोपतिर लागे भने कतिपय मानिसहरु भारतको केरला हुँदै तिब्बत, चिन, रसिया, जापान, फिलिपिनतिर लागे । र धेरै पछि बिसहजार वर्ष पहिले हिमयुगको समयमा रसियाको आलास्का हुँदै मानिसहरू अमेरिका पुगे । हामीलाई थाहा छ कि पन्ध्रौंं शताब्दी सन् १४९२ मा क्रिष्टोफर कोलम्बस युरोपबाट पहिला अमेरिका पुगेको थिए । त्यतिबेला त्यहाँ मानवहरु थिए । आज तिनै कोलम्बसलाई अमेरिका पत्ता लगाएको श्रेय दिइएको छ । यसरी विभिन्न समयमा मानिसहरु अफ्रिकामा पैदा भएर हिंडेरै संसारभरि फैलिन सफल भए । यसरी मानिसहरू हिंड्दै जाँदा कोही चिसो ठाउँमा पुगे भने कोही उष्ण गर्मी ठाउँमा पुगे । ठूला–ठूला वनजंगल, पहाड, भिरपाखा, हिमाल, नदिनाला र समुद्र पार गर्दै मानवहरू निरन्तर हिंडिरहे । लाखौं वर्षको बसाईपछि प्रकृतिले उनीहरूको शारीरिक बनावटमा वातावरणीय भिन्नता उपहार दिंदै गयो ।
अब हामी लागौं मानिसहरुको नाक किन लामो र छोटो हुँदै गयो ? छाला किन कालो र सेतो भयो ? विभिन्न जातीहरू र भाषा–सँस्कृतिको विकास कसरी भयो ? आदी विषयमा छलफल गरौं । जीव वैज्ञानिक डार्विनको एउटा सिद्धान्त छ नेचुरल सेलेक्शन । कुनै पनि जीवजन्तु लाखौं लाख वर्ष अर्थात लामो समयसम्म एउटै भूगोल र वातावरणमा रह्यो भने प्रकृतिले उनीहरुको ढाँचा निर्माण गर्दछ र त्यहींको वातावरणमा बाँच्न योग्य बनाउँछ । जस्तैः पहेंलो फूल फुलेको बगैंचामा पहेंलै पुतली घुम्नु, रूखको बोक्रा जस्तै किराहरूको विकास हुनु, मरूभूमीमा उँटको विकास हुनु र पैदा हुँदा मानिसको छाला अफ्रिकाको गर्मीमा कालो रंगको थियो । उनीहरुको नाक थेप्चो र चौडा थियो । अहिले पनि अफ्रिकामा रहेका मानिसहरुको रंग र नाक उस्तै नै छ । तर त्यहाँबाट हिंडेका मानिसहरु, कोही अरब, कोही, भारत, कोही, युरोप, कोही रसिया, कोहि अमेरिका त कोही चिन, जापान पुगे । मानिसहरू जहाँ र जस्तो ठाउँमा पुगें त्यो ठाउँको लामो बसाईले उनीहरूको शारीरिक, मानसिक, भाषिक र बौद्धिक विकासमा निकै ठूला विविधता उत्पन्न गरायो ।
यसैगरी जातिको निर्माणमा भूगोल, वंश र साझा सँस्कृतिको भूमिका रहन्छ । भूगोलका साथै प्राचिन समयमा मानिसहरू साना–साना समूहमा अलग–अलग ठाउँमा जस्तैः पहाड, तराई वा उपत्यकामा बस्थे । एउटै भौगोलिक क्षेत्रमा लामो समय बस्दा उनीहरूको आफ्नै विशिष्ट रहनसहन र पहिचान बन्यो । साझा पहिचान जस्तो कि एउटै भाषा, वंश, धर्म र सँस्कृतिको विकास भयो र ती परम्परा मान्ने समूहहरूले आफूलाई एउटा छुट्टै जातिको रूपमा चिन्न थाले जस्तैः नेपालको सन्दर्भमा राई, लिम्बू, मगर, थारु त्यसैगरी संसारभरि यसरी नै जातजाति र भाषा सँस्कृतिको विकास हुँदै गयो आदि ।
यसैगरी भाषाको विकास सम्पर्क र आवश्यकताका कारण भएको हो । अभिव्यक्तिको माध्यम हो भाषा, सुरुमा संकेतबाट सुरु भएको सञ्चार बिस्तारै ध्वनि र शब्दमा परिवर्तन भयो । समाजका सदस्यहरूबीच साझा बुझाईका लागि भाषाको विकास भयो । सुरुमा एउटै समूहमा आए पनि, मानिसहरू अलग–अलग ठाउँमा बाँडिएपछि उनीहरूको बोलीचालीमा भिन्नता आयो । भौगोलिक दूरी हजारौं वर्षसम्म एक–अर्काबाट टाढा रहँदा विभिन्न समूहले आफ्नै नयाँ शब्द र व्याकरण विकास गरे । यसले गर्दा मानव समाजमा सयौं आदिवासी भाषाहरू जन्मिए जस्तैः स्पेनिस, हिन्दी, अंग्रेजी, चिनिया, जापानी, फ्रेन्च र पोर्चुगिज भाषाहरू आदी । नेपालका भाषाहरूको कुरो गर्नुपर्दा मुख्यतया चार भाषा परिवारबाट आएका देखिन्छन्– भारोपेली – जस्तैः नेपाली, मैथिली, भोट–बर्मेली (तामाङ, नेवारी, अग्नेली र ड्रविड झाँगड) । प्राकृतिक परिवर्तन भूगोल र समयसँगै एउटै मूल भाषाबाट विभिन्न अपभ्रंश हुँदै नयाँ नयाँ भाषाहरू बने । जस्तै, सँस्कृतबाट अपभ्रंश हुँदै हिन्दी, बंगाली र नेपाली भाषाको विकास भयो । अध्ययनको निष्कर्षमा, जात व्यवस्था कृत्रिम सामाजिक श्रेणीकरण हो भने जाति र भाषा प्राकृतिक रूपमा भूगोल र सामूहिक अनुभवबाट विकसित भएका पहिचान हुन् ।
नाकको बनावटः मानवको नाक कतिपयको लामो, छोटो, थेप्चो वा चुच्चो हुनुको मुख्य कारण भौगोलिक जलवायु र वंशानुगत अनुकूलन हो । हजारौं वर्षसम्म फरक–फरक वातावरणमा बस्दा मानव शरीरले सास फेर्ने हावालाई शरीरको तापक्रमसँग मिलाउन नाकको आकार परिवर्तन गर्दै लग्यो । यसका मुख्य कारणहरूमा जस्तै कि चिसो र सुख्खा जलवायु अर्थात चिसो ठाउँमा बस्ने मानिसहरूको नाक प्रायः लामो र साँघुरो हुन्छ । यसको मुख्य काम बाहिरको चिसो हावालाई फोक्सोसम्म पुग्नुअघि न्यानो र ओसिलो बनाउनु हो । लामो नाकको नलीले हावालाई न्यानो पार्न बढी समय र सतह प्रदान गर्छ । तातो र ओसिलो जलवायु तातो र आद्र्रता बढी भएको ठाउँमा बस्ने मानिसहरूको नाक प्रायः छोटो र चौडा हुन्छ । यस्तो वातावरणमा हावा पहिले नै न्यानो र ओसिलो हुने भएकाले नाकले धेरै कसरत गर्नुपर्दैन । चौडा नाकले सजिलै धेरै हावा भित्र पठाउन र शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ । वैज्ञानिक थम्प्सनले एउटा नियम प्रतिपादन गरेका थिए । ‘सन् १८०० को अन्त्यतिर एन्थ्रोपोलोजिस्ट आर्थर थम्प्सनले यो तथ्य पत्ता लगाएका थिए कि मानिसको नाकको चौडाइ उनीहरू बसेको क्षेत्रको तापक्रम र आद्र्रतासँग प्रत्यक्ष सम्बन्धित हुन्छ ।‘ वंशानुगत गुण जलवायु बाहेक, आमाबाबुबाट आउने जीनले पनि नाकको आकार निर्धारण गर्छ । नाकको विकासमा विशेषगरी जीनहरूले नाकको डाँडीको चौडाइ र चुच्चोपन नियन्त्रण गर्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसैगरी सुन्दर पुरुष र सुन्दर नारी अर्थात यौन चयनले पनि कुनै समाजमा विशेष प्रकारको महत्व राख्ने हुँदा नाकलाई सुन्दर मानिने र त्यस्तै जोडी रोज्ने क्रम चल्दा पनि पुस्तान्तरण हुँदै जाँदा नाकको आकारमा भिन्नता आयो ।
यसैगरी मानिसको छालाको रंग मुख्यतयाः मेलानिन र वातावरणमा भर पर्छ । घामको असर पनि हो, जो मानिसहरू भूमध्यरेखा नजिकका तातो ठाउँमा बसे जस्तै मध्य र दक्षिण अमेरिका, उनीहरूको छाला सूर्यको हानिकारक पराबैंगनी किरणबाट बच्न गाढा वा कालो हुँदैगयो । जो मानिसहरू उत्तरतिरका चिसो र कम घाम लाग्ने ठाउँमा बसे, उनीहरूको छाला शरीरमा भिटामिन डी बनाउन सजिलो होस् भनेर गोरो वा हल्का भयो । आज हामी जातजाति एक आपसमा लडिरहेका छौं, एक आपसमा कालो, गोरो, राम्रो नराम्रो, लामो नाक र छोटो नाक भाषा र सँस्कृतिको घमण्ड देखाएर एकआपसमा विभाजित भएका छौं तर वास्तवमा नाक, भाषा, शारीरिक बनोट र धर्म सँस्कृति भन्ने कुरा मानव सम्बन्ध भन्दा ठूला कुरा होईनन् ।
यी यावत कुराहरू त हामी संसारभरि राम्रो बासस्थान र दानापानीको खोजीमा डुल्दै हिंड्दा निर्माण भएका कुराहरू वा विषेशताहरू हुन् । त्यसैले हामी नाक, छालाको रंग, भाषा सँस्कृति र धर्मको विषयमा मारामार र काटाकाट गर्नु सभ्य मानव जातिको धरातलमा उभिएर हेर्दा कुनै पनि हालतमा सैह्य हुँदैन । आज हेर्नुहोस हामी मानव जाति जातभात, कालो–गोरो, लामो नाक र छोटो नाक, भाषा र सँस्कृतिको विषयलाई लिएर लडिरहेका छौं । तर हामीलाई आशा एवं विश्वास छ जातजातिको इतिहासको अध्ययन गरेपछि र वास्तविकता बुझेपछि हामी पक्कै पनि एकआपसमा लड्न छाडेर संसार बदल्नतिर लाग्ने छौं, सबै मानव जातिको उद्गम र पुर्खा एउटै हुन, हामी सबै एउटै आमाका सन्तानहरू हौं, हाम्रो पहिचान जातजाति भन्दा पनि मानविय एकता र मानव विकास नै पहिलो र प्रमुख हो । यसैमा जातजातिको हित लुकेको छ । आज पहिचानको नाममा मानवीय संवेदना नै समाप्त भएको छ । मानवियता भन्दा जातजाति र भाषा ठूला विषय होईनन् । तर हामीहरू आज स्वदेश तथा विदेशमा पनि जातीय तथा क्षेत्रीय संघ–संस्था बनाउँदा सिंगो मानव विकासमा नकारात्मक असर देखापरेको छ । आज वर्गीय शोषणको विरूद्ध शक्ति जुटाउन र एकिकृत हुनका लागि जातीय तथा क्षेत्रीय पहिचानको राजनीति बाधक बनेर उभिएको छ । यस प्रकारका चिन्तनले सिंगो मानव विकास र वर्गीय लडाईको आन्दोलनमा बाधा उत्पन्न गरेको छ । त्यसैले कतिपय ठूला देशहरूले सिंगो मानव विकासको साझा एजेण्डालाई पहिल्याएर अघि बढेको देखिन्छ । यो साझा मानव विकासको एजेण्डा नै अहिलेको अपरिहार्य मार्गदर्शन हो ।








