काठमाडौं महानगरपालिका–२६ फायरचोक क्षेत्रबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट निष्कासन गरिएको छ। प्रहरीले चैत ११ गते ठमेलबाट २० जना महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले ठमेल क्षेत्रमा बाटो छेकेर पुरुषहरूसँग अनुचित प्रस्ताव राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ। त्यसपछि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइ जिल्ला प्रशासन कार्यालयले प्रत्येकलाई ५ हजार ५ सय रुपैयाँ जरिवाना गरेको थियो।
जरिवाना प्रक्रिया पूरा भएपछि उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको थियो। विभागले सबैलाई देश निकाला गर्ने निर्णय गर्दै आफ्नो देश फर्काएको छ।
प्रहरीका अनुसार उनीहरूलाई समूहले नेपाल ल्याई यौन क्रियाकलापमा संलग्न गराएको देखिएको छ। साथै, अब उनीहरूलाई पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।








