Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापान सरकारले विदेशी नागरिकहरूका लागि सबैभन्दा प्रचलित ‘दक्ष कामदार’ भिसाको नियममा कडाइ गर्दै भाषा दक्षताको प्रमाणपत्र अनिवार्य गरेको छ । बुधबारदेखि लागू भएको नयाँ निर्देशिका अनुसार, ‘इन्जिनियर/स्पेशलिस्ट इन ह्युमानिटिज/इन्टरनेशनल सर्भिसेस’ भिसा आवेदन दिने विदेशीहरूले अब आफ्नो भाषिक क्षमता प्रमाणित गर्नुपर्नेछ ।

विशेष गरी दोभासे, अनुवादक, कम्पनी कर्मचारी र होटल क्षेत्रमा कार्यरत विदेशी नागरिकहरू, जसको काममा भाषाको प्रयोग मुख्य हुन्छ, उनीहरूका लागि यो नियम अनिवार्य गरिएको हो । जापानी न्याय मन्त्रालयका अनुसार, आवेदकले जापानी भाषा तर्फ ‘जापानी भाषा दक्षता परीक्षा’ (JLPT) को ‘N2’ स्तर वा ‘बिजनेस जापानी भाषा परीक्षा’ (BJT) मा ४०० भन्दा बढी अंक प्राप्त गरेको हुनुपर्नेछ । यो मापदण्ड अन्तर्राष्ट्रिय स्तरको ‘CEFR B2’ सरह मानिन्छ ।

अध्यागमन अधिकारीहरूका अनुसार, कतिपय विदेशी कामदारहरूले दक्ष विधामा भिसा प्राप्त गर्ने तर वास्तवमा अदक्ष वा सम्बन्धहीन काम गर्ने गरेको पाइएपछि सरकारले यो कदम चालेको हो । नयाँ नियम अनुसार, जापानमा कार्यरत रहेकै अवस्थामा पेशा परिवर्तन गर्दा वा भाषाको प्रयोग हुने नयाँ जिम्मेवारी पाउँदा पनि भाषा दक्षताको प्रमाण पेश गर्नुपर्नेछ । यसका साथै, कामदार पठाउने र लिने दुवै कम्पनीहरूले विदेशी कामदारलाई आफ्नो भिसाको दायराभन्दा बाहिरको काममा नलगाउने भनी लिखित प्रतिबद्धता समेत जनाउनुपर्ने प्रावधान थपिएको छ ।को-को छुट हुनेछन् ?
नयाँ नियममा केही वर्गलाई भने सहुलियत दिइएको छ । जापानका विश्वविद्यालय वा प्राविधिक विद्यालयबाट स्नातक गरेका, जापानमै विद्यालय स्तरको अनिवार्य शिक्षा पूरा गरेका वा २० वर्षभन्दा बढी समयदेखि जापानमा बसोबास गरिरहेका दीर्घकालीन बासिन्दाहरूले भाषा परीक्षाको प्रमाणपत्र पेश गर्नु पर्ने छैन ।

सरकारको यो नयाँ निर्णयले जापानी भाषा परीक्षा प्रणालीमा ठूलो चाप थपिने देखिएको छ । सन् २०२५ को डिसेम्बरमा भएको परीक्षामा विश्वभरबाट रेकर्ड १० लाख ५० हजारभन्दा बढीले आवेदन दिएका थिए । माग अत्यधिक बढेका कारण पछिल्लो समय तोकिएको समय सीमाभन्दा अगाडि नै आवेदन फारम भर्न बन्द हुने गरेको छ ।

हाल जापानमा ‘इन्जिनियर र ह्युमानिटिज’ भिसा अन्तर्गत ४ लाख ७५ हजारभन्दा बढी विदेशीहरू कार्यरत छन् । यो संख्या स्थायी बासिन्दा (पर्मानेन्ट रेजिडेन्ट) पछिको दोस्रो ठूलो समूह हो । नयाँ नियमले अब जापानमा काम गर्न आउने र हाल कार्यरत रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया