Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानको दक्षिण–पश्चिमी क्षेत्र कुमामोटोमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरी मृतकहरूको सम्झना गरिएको छ । सन् २०१६ मा दुई चरणमा आएको शक्तिशाली भूकम्पमा २७० भन्दा बढी मानिसको ज्यान गएको थियो ।

बिहान १ बजेर २५ मिनेटमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समय सम्झिँदै पीडित परिवार र सर्वसाधारणले मौनधारण गरेका थिए । उक्त भूकम्पभन्दा दुई दिनअघि ६.५ म्याग्निच्युडको अर्को कम्पन आएको थियो ।

विपदबाट प्राप्त अनुभव र सिकाइ आगामी पुस्तामा हस्तान्तरण गर्ने तथा स्थानीय समुदायको पुनर्निर्माणलाई निरन्तरता दिने उद्देश्यले कुमामोटो सहरमा विशेष स्मृति कार्यक्रम आयोजना गरिएको थियो । यो कार्यक्रम पहिलो पटक प्रान्तीय सरकार र सबै स्थानीय तहहरूको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुमामोटोका गभर्नर ताकाशी किमुराले भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना कहिल्यै बिर्सन नहुने बताएका छन् । उनले विगतका ती क्षणहरूलाई भावी पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरे ।

त्यसैगरी जापान सरकारका प्रमुख मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले विगतका विपदबाट सिकेका अनुभवलाई उपयोग गर्दै जापानलाई “विश्वकै सबैभन्दा विपद्–प्रतिरोधी देश” बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुमामोटो र ओइता प्रान्तमा आएको उक्त भूकम्पमा कुल २७८ जनाको मृत्यु भएको थियो, जसमध्ये करिब ८० प्रतिशत मृत्यु प्रत्यक्ष नभई विस्थापनपछि उत्पन्न रोग तथा तनावका कारण भएको जनाइएको छ । भूकम्पका कारण ४३ हजारभन्दा बढी भवनमा क्षति पुगेको थियो भने करिब १ लाख ९६ हजार मानिस विस्थापित हुन बाध्य भएका थिए ।

दीर्घकालीन विस्थापनका क्रममा गाडीमै सुत्नुपर्ने अवस्थाले स्वास्थ्यमा पार्ने असरजस्ता समस्या पनि उक्त विपद्ले उजागर गरेको थियो । जापानको भूकम्प मापन प्रणालीअनुसार अधिकतम ७ स्तरका ती दुई भूकम्पले पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएका थिए । मिनामिआसो गाउँस्थित आसो ओहाशी पुल भत्किएको थियो भने जेआर क्युशु रेलमार्ग पनि अवरुद्ध भएको थियो ।

लोकप्रिय पर्यटकीय गन्तव्य कुमामोटो दरबारमा पनि ठूलो क्षति पुगेको थियो, विशेषगरी यसको ऐतिहासिक ढुंगे पर्खालहरूमा । दरबारको मर्मत कार्य अझै जारी रहेको छ र सन् २०५२ सम्ममा पूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया