समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन्।
नयाँ व्यवस्था सोमबारदेखि लागू गरिएको हो। बिदा बढेसँगै कार्यालय समय पनि परिवर्तन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
समय तालिका परिवर्तन भएसँगै सिंहदरबारलगायत विभिन्न सरकारी कार्यालयमा कर्मचारीहरूको उपस्थिति बिहान ८ बजेदेखि नै देखिन थालेको छ। नयाँ कार्यसमयअनुसार कामकाज व्यवस्थित गर्न कर्मचारीहरू समयअघि नै कार्यालय पुग्न थालेका हुन्।








