समाचार सुन्नुहोस :
काठमाडौँ – मध्यपूर्वमा बढ्दो तनावबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको आक्रमणमा घाइते भएका सातै नेपाली नागरिक अहिले खतरामुक्त रहेको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली दूतावासले सबै घाइतेसँग सम्पर्क गरी स्वास्थ्य अवस्था बुझिसकेको र आवश्यक सहयोगका लागि पहल गरिरहेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जना उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन्। एक जना भने गम्भीर घाइते भए पनि अवस्था स्थिर रहेको र चाँडै डिस्चार्ज हुने जानकारी दिएका छन्। दूतावासका अधिकारीहरूले केही घाइतेलाई अस्पतालमै भेटेर अवस्थाबारे जानकारी लिएका छन् भने बाँकीसँग पनि भेट्ने तयारी गरिएको छ। घटनापछि मन्त्रालयले दूतावासलाई तुरुन्त आवश्यक समन्वय गर्न निर्देशन दिएको थियो।
मध्यपूर्व क्षेत्र लामो समयदेखि राजनीतिक अस्थिरता र शक्ति प्रतिस्पर्धाको केन्द्र रहँदै आएको छ। पछिल्ला वर्षमा ड्रोन र मिसाइल आक्रमण बढ्दै जाँदा सर्वसाधारणसमेत प्रभावित हुने क्रम देखिएको छ। यूएईजस्तो सुरक्षित मानिने देशमा पनि यस्तो घटना हुनु क्षेत्रीय तनाव बढेको संकेत मानिएको छ।








