टोकियो – जापानको फुकुओका उच्च अदालतले एक १५ वर्षीय किशोरले गरेको हत्याको घटनामा उनकी आमालाई पनि जिम्मेवार ठहर गर्दै पीडित परिवारलाई भारी क्षतिपूर्ति तिर्न आदेश दिएको छ । अदालतले आमाले आफ्नो ‘अभिभावकीय दायित्व’ पूरा नगरेका कारण उक्त अपराध हुन पुगेको निष्कर्ष निकालेको छ ।
यसअघि फुकुओका जिल्ला अदालतले हत्यामा संलग्न छोरालाई मात्र करिब ५ करोड ४१ लाख येन क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । तर, पीडित पक्षले छोरा नाबालिग रहेको र उसको संरक्षणमा आमाको लापरबाही रहेको भन्दै पुनरावेदन गरेपछि उच्च अदालतले उक्त फैसला उल्ट्याएको हो । नयाँ फैसला अनुसार अब आमाले पनि छोरासँगै संयुक्त रूपमा करिब ५ करोड ४० लाख येन क्षतिपूर्ति तिर्नुपर्नेछ ।
घटनाको पृष्ठभूमि
सन् २०२० अगस्टमा फुकुओका सहरको एक व्यावसायिक महलमा २१ वर्षीया मिसातो योशिमात्सुको चक्कु प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न १५ वर्षीय किशोर बाल सुधार गृहबाट छुटेको दुई दिनमै उक्त जघन्य अपराधमा संलग्न भएका थिए ।
उच्च अदालतले आफ्नो फैसलामा भनेको छ, ‘आफ्नो छोरा हिंस्रक हुन सक्ने कुरामा आमा जानकार थिइन्, तर उनले आवश्यक निगरानी गरिनन् ।’ सुधार गृहबाट छुट्ने समयमा आमाले छोराको संरक्षक बस्न समेत अस्वीकार गरेको र छोरा विद्यालय जाने उमेरकै हुँदा पनि कुनै सम्पर्क वा समन्वय नगरेको अदालतको ठहर छ ।
पीडित परिवारले आमाले छोरालाई बाल्यकालमा गरेको दुर्व्यवहारका कारण उसको व्यक्तित्व असामान्य बनेको र त्यसैको परिणाम स्वरूप हत्याको घटना घटेको तर्क गरेका थिए । फैसलापछि पीडितकी आमाले भनिन्, ‘अदालतले हाम्रो तर्कलाई न्यायोचित ठानेको छ, यसबाट हामीलाई केही राहत महसुस भएको छ ।’








