काठमाडौं – मुलुकले आज (शुक्रबार) नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
शपथअघि शाहलाई प्रधानमन्त्रीमा औपचारिक रूपमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न शपथ ग्रहण समारोह आयोजना हुने छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको थियो । सोही दलले बिहीबार बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित निर्वाचित भएका थिए । यसअघि बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।








