टोकियो – जापानको टोकियोस्थित चिनियाँ दूतावासमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपमा २३ वर्षीय एक सैन्य अधिकारीलाई बिहीबार सरकारी वकिलको कार्यालय पठाइएको छ । जापानको स्थल सेनाका ‘सेकेन्ड लेफ्टिनेन्ट’ कोदाई मुरातालाई गत मंगलबार दूतावासको पर्खाल नाघेर भित्र पसेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
मियाजाकी प्रान्तको सैन्य क्याम्पमा कार्यरत मुराता काँडेतार लगाएको पर्खाल चढेर दूतावास छिरेका थिए । दूतावासका कर्मचारीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। उनको साथबाट एउटा चक्कु समेत बरामद भएको छ ।
प्रहरी बयानका क्रममा मुराताले राजदूतलाई भेटेर ‘जापानको आलोचना नगर्न’ चेतावनी दिन चाहेको र आफ्नो कुरा अस्वीकार गरिएमा आत्महत्या गर्ने योजना बनाएको बताएका छन् । ताइवानको सुरक्षालाई लिएर जापानी प्रधानमन्त्री सानाए ताकाइचीको पछिल्लो टिप्पणीका कारण जापान र चीनबीच कूटनीतिक तनाव बढिरहेका बेला यो घटना घटेको हो ।








