
टोकियो – संयुक्त राज्य अमेरिकाको एक ज्यूरीले मंगलबार दिएको ऐतिहासिक निर्णयमा मेटाले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत बालबालिकाको मानसिक स्वास्थ्यमा हानि पुर्याएको तथा बाल यौन शोषणसम्बन्धी जानकारी लुकाएको ठहर गरेको छ ।
करीब सात हप्तासम्म चलेको सुनुवाइपछि न्यु मेक्सिको ज्यूरीले मंगलबार दिएको ऐतिहासिक यो फैसला सुनाएका हुन । युटुव र मेटा विरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा पनि समान प्रकृतिको मुद्दामा ज्यूरी विचार-विमर्शमा रहेको छ ।
ज्यूरीले राज्यका अभियोजनकर्ताको दाबीलाई समर्थन गर्दै मेटाले सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिएको ठहर गर्नुका साथै कम्पनीले बाल यौन शोषणको जोखिम र सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने असरबारे जानकारी लुकाएको निष्कर्ष निकालेको हो ।
ज्यूरीले मेटाले भ्रामक तथा गलत सूचना दिएको र बालबालिकाको कमजोरी तथा अनुभवहीनताको फाइदा उठाउँदै “अनुचित व्यापार अभ्यास” गरेको पनि स्वीकार गरेको छ ।
उक्त ज्यूरीले मेटालाई हजारौं उल्लंघनहरू भेटिएको र प्रत्येक उल्लंघनका लागि कुल जरिवाना ३७ करोड ५० लाख डलर (३७५ मिलियन डलर) तिर्न आदेश दिएको छ ।
करिब १.५ ट्रिलियन डलर मूल्य रहेको Meta को सेयर भने निर्णयपछि प्रारम्भिक कारोबारमा ५% ले बढेको देखियो, जसले लगानीकर्ताहरूले यस निर्णयलाई ठूलो जोखिमका रूपमा नलिएको संकेत गर्दछ ।
हालका लागि कम्पनीलाई आफ्ना कार्यप्रणाली परिवर्तन गर्न बाध्य भने पारिएको छैन । अब न्यायाधीशले मेटाका प्लेटफर्महरूले सार्वजनिक समस्या सिर्जना गरे कि गरेनन् भन्ने निर्णय गर्नेछन्, साथै क्षतिपूर्ति स्वरूप सार्वजनिक कार्यक्रमहरूका लागि खर्च गर्नुपर्ने कि नपर्ने पनि तय गर्नेछन् । यस मुद्दाको दोस्रो चरण मे महिनामा सुरु हुने छ ।
मेटउका प्रवक्ताले निर्णयसँग असहमति जनाउँदै अपिल गर्ने बताएका छन् । “हामी हाम्रो प्लेटफर्ममा प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रयासरत छौं,” उनले भने, “हानिकारक सामग्री हटाउन चुनौतीहरू भए पनि हामी आफ्नो बचाउमा दृढ छौं ।”
कम्पनीका वकिलहरूले पनि मेटाले जोखिमहरूबारे जानकारी दिने र हानिकारक सामग्री हटाउन प्रयास गर्ने गरेको दाबी गरेका छन्, यद्यपि केही सामग्री प्रणालीबाट छुट्ने स्वीकार गरेका छन् ।
यो मुद्दा सामाजिक सञ्जालको प्रभावबारे दायर गरिएका थुप्रै मुद्दामध्ये पहिलो पटक परीक्षणमा पुगेको घटनामध्ये एक हो । हाल ४० भन्दा बढी राज्यका महान्यायाधिवक्ताहरूले मेटा विरुद्ध मुद्दा दायर गर्दै इन्टाग्राम र फेसबुक जस्ता प्लेटफर्महरूलाई बालबालिकामा लत लाग्ने गरी डिजाइन गरिएको आरोप लगाएका छन् ।
टेक निगरानी समूहका निर्देशक साचा हावर्थका अनुसार, “मेटाको संरचना अब कमजोर हुँदै गएको छ । वर्षौंदेखि कम्पनीले यौन अपराधीहरूलाई रोक्न असफल भएको स्पष्ट छ ।”
न्यु मेक्सिकोको मुद्दा राज्यको गोप्य अनुसन्धानमा आधारित थियो, जसमा एजेन्टहरूले बालबालिका बनेर सामाजिक सञ्जालमा खाता खोली यौन प्रस्तावहरू र मेटाको प्रतिक्रिया अध्ययन गरेका थिए ।
सन् २०२३ मा महान्यायाधिवक्ता राउल टोरेजले दायर गरेको यो मुद्दामा मेटाले सामाजिक सञ्जालको लतको जोखिमबारे पूर्ण जानकारी नदिएको आरोप पनि लगाइएको छ । ***
(जापानटुडेबाट)








