टोकियो – जापानमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेका बेला सर्वसाधारणका लागि प्रोटिनको सबैभन्दा सस्तो र सुलभ स्रोत मानिने कुखुराको मासुको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गाई र सुँगुरको मासु महँगो भएपछि उपभोक्ताहरूको ‘अन्तिम भरोसा’ बनेको कुखुराको मासुको भाउ ऐतिहासिक उचाइमा पुगेपछि जापानी भान्सा थप प्रभावित भएको छ ।
जापानका कृषि, वन तथा मत्स्य मन्त्री सुजुकीका अनुसार महँगीका कारण उपभोक्ताहरूले बचत गर्ने उद्देश्यले गाई र सुँगुरको मासुको सट्टा कुखुराको मासु रोज्न थालेपछि माग बढ्न गई मूल्यमा चाप परेको हो ।
तथ्याङ्कअनुसार दुई वर्षअघि मे महिनामा १०० ग्राम कुखुराको खुट्टाको मासुको औसत मूल्य १३५ येन थियो भने गत महिना यो बढेर १५४ येन पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो । आयातित मासुको मूल्य झन्डै दोब्बरले वृद्धि भएपछि धेरैजसो रेस्टुरेन्ट र व्यवसायहरूले अहिले स्वदेशी (डोमेस्टिक) मासु प्रयोग गर्न थालेका छन्, जसले आन्तरिक बजारमा थप अभाव सिर्जना गरेको छ।
टोकियोको प्रसिद्ध पर्यटकीय क्षेत्र शिन-ओकुबोमा सञ्चालित एक कोरियाली रेस्टुरेन्टका सञ्चालक अहिले मासुको भाउ बढेपछि निकै चिन्तित छन् । दैनिक ८ देखि १० किलो मासु खपत हुने उनको रेस्टुरेन्टमा गत वर्षसम्म प्रतिकिलो ५०० येन पर्ने मासुको भाउ अहिले ८५० येन पुगेको छ । ती सञ्चालक भन्छन्, ‘भाउ त धेरै बढ्यो, तर ग्राहकसँग लिने पैसा बढाउँदा उनीहरूलाई अन्याय होला भन्ने लाग्छ। मूल्य बढाउने कुरा सोच्नै सकस भइरहेको छ ।’
गत एक वर्षमा विदेशबाट आयात गरिने कुखुराको मासुको लागत झन्डै दुई गुणाले बढेको छ । आयातित र स्वदेशी मासुको मूल्यमा धेरै अन्तर नरहेपछि अहिले सुपरमार्केटहरूले स्वदेशी मासुलाई नै ‘विशेष अफर’मा राख्न थालेका छन् । साइतामा प्रान्तको एक सुपरमार्केटका प्रबन्धकका अनुसार ग्राहकलाई आकर्षित गर्न उनीहरूले नाफा नै नगरी स्वदेशी मासु सस्तोमा बेचिरहेका छन् ।
विशेष अफरको बेला हप्ताभरिको मासु एकैचोटि किन्ने उपभोक्ताहरूको संख्या बढेको छ । एक ग्राहकले भनिन्, ‘धेरै महँगो भएको छ, त्यसैले विज्ञापन हेरेर जहाँ सस्तो छ त्यहीँबाट धेरै मात्रामा किनेर राख्ने गरेकी छु ।’








