काठमाडौं – नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको मिति नजिकिएसँगै दुई तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको आन्तरिक तयारीलाई तीव्र पारेको छ । १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको रास्वपाले संविधानको धारा ७६ (१) बमोजिम एकल बहुमतको सरकार बनाउने गृहकार्य अघि बढाएको हो ।
संसद् सचिवालयले आगामी बिहीबार नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम छ । लगत्तै रास्वपाले संसदीय दलको बैठक बोलाएर नेता चयन गर्नेछ । पार्टीले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउने तयारी गरेको र चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गराउने लक्ष्य राखेको छ ।
पार्टी सभापति रवि लामिछाने र नेता बालेन शाहबीच मन्त्रिपरिषद्को स्वरूप र सम्भावित मन्त्रीहरूबारे घनीभूत छलफल भइरहेको छ । आफ्नो चुनावी वाचा पत्रअनुसार रास्वपाले संघीय मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गर्ने भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विज्ञता र कार्यक्षमताका आधारमा १५ देखि १८ वटा मन्त्रालय मात्र बनाइनेछ ।
रास्वपामा अर्थ मन्त्रालयका लागि डा. स्वर्णिम वाग्लेको नाममा करिब सहमति जुटिसकेको छ । सर्वाधिक चासोको गृह मन्त्रालयमा भने उपसभापति डोलप्रसाद (डिपी) अर्याल र महामन्त्री सुनिल लम्सालको नाम चर्चामा छ । सभापति लामिछानेले अर्याललाई गृहको जिम्मेवारी दिन चाहेका छन् भने नेता शाहले आफ्ना विश्वासपात्र लम्साललाई अघि सारेका छन् । अर्याललाई सभामुखको प्रस्ताव गरिए पनि उनले गृह मन्त्रालयमै रुचि देखाएको बताइएको छ ।
त्यस्तै, प्रवक्ता मनिष झाले सञ्चार तथा सूचना प्रविधि र शिशिर खनालले परराष्ट्र मन्त्रालय सम्हाल्ने सम्भावना छ । कानुन मन्त्रीका लागि सोबिता गौतमको नाम चर्चामा छ भने उनलाई सभामुख बनाउनुपर्ने आवाज पनि पार्टीभित्र उठेको छ । यद्यपि, पूर्वउपसभामुख इन्दिरा राना मगरले पनि सभामुखमा दाबी गरिरहेकी छन् ।
मन्त्रीका लागि विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदासको नाम पनि प्राथमिकतामा छ । मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकमा निशा डाँगीलाई जिम्मेवारी दिने तयारी रास्वपाले गरेको छ ।








