समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
यसअघि अदालतले मुद्दा संशोधनसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो। सोहीअनुसार महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कागजात अदालतमा बुझाएपछि सुनुवाइ अघि बढ्न लागेको हो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध दायर तीनमध्ये दुई मुद्दा हटाएर सहकारी ठगीमा मात्र अभियोजन गर्न निर्देशन दिएकी थिइन्। यस निर्णयविरुद्ध कानुन व्यवसायी र विद्यार्थीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन्।
निर्देशनपछि कास्की र रुपन्देहीमा सम्बन्धित निवेदन पेस भए पनि मुद्दा सर्वोच्चमै विचाराधीन भएकाले प्रक्रिया अघि बढ्न सकेको छैन। काठमाडौँ र पर्सामा भने संशोधनका लागि निवेदन दर्ता भएको छैन। अबको सुनुवाइले यस विषयमा कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ।








