समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू र आफ्नो समूहले नेकपा एमालेमा फर्किने तयारी गरेको बताएका छन्। उनले आफूहरू कुनै पदको इच्छा बिना नै निशर्त रूपमा ‘मूलघर’ फर्किन लागेको स्पष्ट पारेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश होइन, बरु आफैंले निर्माणमा योगदान गरेको दलमा फर्किने तयारी भएको बताए। उनका अनुसार एमालेसँग हाल वार्ता र संवाद जारी छ।
श्रेष्ठले भने, ‘हामी कसैसँग समाहित वा एकता होइन, बरु जीवन अर्पण गरेको मूलघर एमालेमै फर्किन लागेका हौं।’ उनले थपे, ‘हामीलाई पद चाहिँदैन, केवल सम्मानजनक व्यवहार र साथ मात्र चाहिएको हो। एमालेले त्यसको वातावरण बनाईदियो भने हामी निशर्त फर्किन्छौं।’








