समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकाको केन्टकी राज्यस्थित लुइभिल अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
विमान दुर्घटनापछि लागेको ठूलो आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगोका कारण आसपासका व्यवसायिक क्षेत्रहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। अधिकारीहरूले कम्तीमा ११ जना घाइते भएको र केही व्यक्ति हराइरहेका बताएका छन्। त्यस्तै, स्थानीय बासिन्दालाई घरभित्रै बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ।
अमेरिकी संघीय विमानन प्रशासन (एफएए) का अनुसार विमानमा करिब ३८ हजार ग्यालोन इन्धन थियो, जसको विस्फोटपछि आगो फैलिएको हो। विमानमा रहेका तीन जना चालक दलका सदस्यको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
दुर्घटनाग्रस्त युपिएस फ्लाइट नम्बर २९७६ लुइभिल मोहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईस्थित होनोलुलु जाने तयारीमा थियो।








