समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच कतारको दोहामा शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा मंगलबारदेखि सुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका हुन्।
भेटमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरू कार्यान्वयन र सामाजिक विकासलाई गति दिन महासचिव गुटेरेसले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्त गर्न नेपाल संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न तयार रहेको बताए।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, भेटमा उनले गत सेप्टेम्बरको ‘जेन–जी आन्दोलन’पछि नयाँ सरकार बनेको र उक्त आन्दोलनले जवाफदेही र भ्रष्टाचारमुक्त शासनको माग गरेको उल्लेख गरे। युवाहरूको आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
पौडेलले प्रतिनिधिसभा विघटनपछि फागुन २१ गते आम निर्वाचन तोकिएको र स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि तयारी भइरहेको बताए। उनले आगामी निर्वाचनले नेपालमा राजनीतिक निकास, सुशासन र समृद्धिको बाटो खोल्ने विश्वास व्यक्त गरे। उनले थपे, “हामीले जेन–जी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौं र संविधान तथा लोकतन्त्रको रक्षा गरेका छौं।”








