समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहा गएका छन्। उनले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई बिदाइ गरे। सो अवसरमा उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख र कूटनीतिक प्रतिनिधिहरू उपस्थित थिए। नेपाली सेनाले राष्ट्रपति पौडेललाई सम्मान गारत अर्पण गरेको थियो। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। उनले १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। संयुक्त राष्ट्रसंघको निर्णयअनुसार यो सम्मेलन ३० वर्षपछि हुन लागेको हो। पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक सम्मेलनमा विश्वका विकास असमानता, जनसंख्याको असन्तुलन र प्रविधिका प्रभावबारे छलफल हुने बताइएको छ।
राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र अन्य वरिष्ठ अधिकारी पनि सहभागी छन्। उनी कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।








